काठमाडौँ - वर्तमान सरकारविरुद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले जनसभा गर्ने भएको छ। मोर्चाले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै चैत्र २४ गते प्रदर्शनी मार्गमा जनसभा आयोजना गर्न लागेको जानकारी दिएको छ।
दुई तिहाई बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेको, भ्रष्टाचार बढेको, करको नाममा लुट मच्चाइरहेको आरोप लगाउदै त्यसका विरुद्ध जनसभा गर्न लागिएको मोर्चाका संयोजक सीपी गजुरेलले बताए।
सुन काण्ड, निर्मला हत्या प्रकरण, वाइडबडी प्रकरण सरकार नै संलग्न भएको आरोप लगाउदै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले त्यसका विरुद्ध सडक आन्दोलन विकल्प भएको उल्लेख गरेको छ।
देश विभिन्न प्रकारका विकरालबाट गुज्रिरहेकाका कारण त्यसको समाधानका लागि संघीय जनगणतन्त्र नै अहिलेको अग्रगामी विकल्प रहेको पनि उक्त पार्टीको ठहर छ। जनसभामा विभिन्न पार्टी र संगठनका नेताहरुले विचार राख्ने कार्यक्रम छ।