काठमाडौँ - राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो।
एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै राखिएको छ भने अध्यक्ष केपी पालुङवा रहेका छन्।अध्यक्ष पालुङवाले आफूहरु मुलुकको तेस्रो धार भएको भन्दै आगामी दिनमा विचार मिल्ने दलहरुसँग एकता गर्ने बताए। उनले भने, ‘विचार मिल्नेहरुसँग एकता गर्दै मुलुकको पहिलो शक्ति बन्ने हाम्रो योजना छ।’
मुलुकमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेको र अहिलेपनि विभेद र असमानता व्याप्त रहेकोले जनताका गुनासाहरुलाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकत्ता खट्किएकोले दुई पार्टीबीच एकता भएको अध्यक्ष पालुङवाले स्पष्ट पारे।
ठूला सत्ताधारी दलहरूले बहुलतालाई नकारी एकल नश्लीय सोचमा देशलाई अशान्तितर्फ धकेल्ने चेष्टा गरिरहेको पनि उक्त पार्टीले आरोप लगाएको छ। सत्तासीन दलहरूमा मुलुक निर्माण गर्ने दक्षता र आचरण दुवै नभएको पनि उसले आरोप लगाएका छन्।