काठमाडौँ - आइतबार राति बारा र पर्सामा आएको हावाहुरीका कारण प्रभावितहरुका लागि सहयोग रकम जुट्न थालेको छ। विभिन्न राजनीतिक दल, संघ संस्थाले पीडितलाई सहयोग गर्न थालेका हुन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसदहरुले हावाहुरी प्रभावितहरुका लागि एक दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन्। प्रमुख विपक्षी नेपाली कांग्रेसका संघीय सांसदहरुले पीडितलाई दुई दिनको तलब सहयोग गर्ने प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।
राष्ट्रिय जनता पार्टीले ५ लाख सहयोगको घोषणा गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको आकस्मिक बैठकले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेकाे अध्यक्ष भवानी राणाले बताइन्।
उनका अनुसार प्रभावित क्षेत्रमा मानवीय सहायतासँगै खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री तत्काल वितरण गरिनेछ। सांगीतिक समूह नेपथ्य र नेपालयले पनि हावाहुरी प्रभावितहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
प्रदेश २ सरकारले पनि हावाहुरी पीडितलाई सहयोग गर्न आग्रह गरेको छ। मुख्यमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गरिदिन प्रदेश सरकारले आह्वान गरेको हो। सहयोगका लागि राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर १२२०५०३०००००० मा रकम जम्मा गर्न सकिने प्रदेश सरकारले जनाएको छ।
भैरहवाको तिलोत्तमा नगरपालिका, रुपन्देहीका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले एक दिन बराबरीको तलव भत्ताबाट चार लाख रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने भएका छन्। वीरगञ्ज लगायतका देशका विभिन्न जिल्लाहरुमा पनि राहत संकलन शुरु भएको छ।
आइतबार राति बारा र पर्सामा आएको हावाहुरीका कारण ३१ जनाको मृत्यु भएको छ भने ७ सय बढी घाइते भएका छन्।