काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृह जिल्ला झापाका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर बारा र पर्सा जाँदैछन्।
बारा र पर्सामा आइतबार राती भीषण हावाहुरीबाट ठुलो धनजनको क्षति भएपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेको प्रेस संयोजक चेतन अधिकारीले बताए।
नेकपा सचिवालयले दिएको जानकारी अनुसार आँधी हुरीले बारा, पर्सालगायत त्यस क्षेत्रमा ठूलो मनाविय क्षतिहुनुको साथै भौतिक क्षति समेत भएको जानकारी पाएपछि प्रधानमन्त्री ओलीले आफ्नो पूर्वनिर्धारितसबै कार्यक्रमहरु स्थगित गरेका हुन्। प्रधानमन्त्री ओली चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जान लागेको प्रेस संयोजक अधिकारीले जानकारी दिए।
झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार नै काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका थिए। तर आइतबार साँझ आएको ठूलो हावाहुरीबाट बारा र पर्सा जिल्लामा ३१ जनाको मृत्यु र ६ सय भन्दा बढी घाइते भएपछि उनीहरुलाई भेट्न र क्षतिको निरीक्षण गर्न ओली त्यसतर्फ जान लागेका हुन्।
प्रभावित क्षेत्रको अवलोकन र सहयोगका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत पनि जनकपुरबाट वीरगंज आउदै गरेको नेपाली पब्लिक संवाददाता राधेश्याम पटेलले जानकारी गराएका छन्।
प्रधानमन्त्री ओली पुर्वी नेपालको चन्द्रगढिबाट नेपाली सेनाको हेलिकोप्टरबाट बाराको भलुहीमा विहान साढे १० बजे आइपुग्ने बारा जिल्ला प्रशासनले जानकारी दिएको छ।
यसैगरि मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवका अनुसार मुख्यमन्त्री आज विहानै जनकपुरबाट प्रस्थान गरिसकेको र केही समयमै पर्सा र बाराको प्रभावित क्षेत्रमा आइपुग्नेछन्। काठमाडौँबाट पनि घाइतेहरुको उपचारका निम्ति चिकित्सकको टोली बारा र पर्सामा आइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ।
प्रदेश सरकारले यसअघि नै आधितुफानबाट मृत्यु हुनेका परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।
