विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलन आफैमा परिपूर्ण सफलताको सम्मेलन भएको बताएका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार विराटनगर पुगेका उनले सम्मेलनबाट विश्व बैंकसहित विभिन्न विदेशी राष्ट्रबाट लगानीको प्रतिबद्धता आएको विषय दोहोर्याए।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकासको गतिमा अघि बढेको हेर्न नचाहनेहरूले अनर्गल प्रचार गरिरहेको पनि दाबी गरे।
मुलुक सकारात्मक गतिका साथ विकासको बाटोमा अघि बढेको बताउँदै उनले गएको वर्षलाई सरकारले आधार वर्ष मानेको र आधार वर्षमा समेत ८ प्रतिशतको वृद्धिदर हुनु सकारात्मक रहेको बताए।
प्रधानमन्त्री ओली लगानी सम्मेलनसम्म आइपुग्दाकाे समयलाई सरकारले आधार वर्षका रूपमा लिएको बताउँदै अब विकास वर्ष शुरु हुने बताए। यो अवधिमा सरकारले कानून संरचना र लगानीको आधार तयार पार्न खर्चिएको उनले प्रस्ट पारे।
प्रधानमन्त्री ओलीले विप्लव माओवादी कतै दर्ता भएको वैधानिक पार्टी नरहेको बताउँदै सो पार्टीको अराजक गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताए। त्यसलाई पार्टीमाथि लगाइएको प्रतिबन्धका रूपमा लिन नहुने उनको भनाइ थियो।
विप्लव नेकपाका कार्यकर्ता रिहा भएको प्रसंगतर्फ लक्षित गर्दे प्रधानमन्त्रीले अदालतमा कुनै पनि प्रकारको हस्तक्षेप नरहेको र अदालतले कानुनसम्मत नियमित आफ्ना काम गर्दे आएको बताए।