काठमाडौँ - सरकारले प्रतिबन्धित विप्लव समूहले धम्की दिए वा चन्दा मागेमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवलाई कुनै किसिमको सहयोग गरेको पाइएमा जो सुकैलाई पनि कारवाही गर्नेसमेत जनाएकाे छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विप्लव समूहबाट सञ्चालित आपराधिक क्रियाकलापमा संलग्न र सहयोग पुर्याउनेलाई समेत कारवाही हुनेछ।’
विप्लव समूहलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि जबरजस्ती आर्थिक सहयोग माग गर्ने, धम्की दिने कार्य भए वा गरेमा तत्काल प्रहरी प्रशासनलाई जानकारी गराउन विज्ञप्तिमार्फत गृह मन्त्रालयले आग्रह गरेको छ।
गृहद्वारा जारी विज्ञप्ति:
सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाएपछि विप्लव समूहका शीर्ष नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गर्दै आएको छ। शुक्रबार मात्रै विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली सुदर्शनसहित ८ जना काभ्रेबाट पक्राउ परेका थिए।