पुस १७, काठमाडौँ । वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्ने उद्देश्यका साथ स्थापना भएको विवेकशील साझा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ। संयोजक उज्वल थापाले सोमबार १८ पृष्ठ लामो समीक्षात्मक प्रतिवेदन पेश गरी नेता–कार्यकर्तालाई बाँडेसँगै पार्टीकाे आन्तरिक विवाद सतहमा आएको हो।
उनले प्रतिवेदनमा अर्का संयोजक रवीन्द्र मिश्रको कार्यशैलीप्रति चर्को आलोचना गरेका छन्। संयोजक थापाको प्रतिवेदनमा दलले होश र जोश अँगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउन चासो नदेखाएकाेलगायतका बुँदाहरू उल्लेख छ। उनले दुई दलको एकीकरण देखावटी मात्र भएको पनि प्रतीकात्मक रुपमा औंल्याएका छन्।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अघि मात्र एक भएका मिश्र र थापा दुवै विवेकशील साझा पार्टीका संयोजक हुन्। पार्टी एकता हुनुअघि मिश्रले साझा पार्टीको नेतृत्त्व गरेका थिए भने थापा विवेकशील नेपाली दलको संयोजक थिए।