काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलनका लागि सरकारले पर्याप्त छलफल नगरेको गुनासो गरेका छन्।
महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको भएपनि त्यसका लागि आवश्यक फलफल नहुँदा प्रभावकारी नहुने दावी गरे। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, त्यसैले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन्।’
विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो। उनले भने, ‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको भनिएको छ।’
महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए। उनले भने, ‘उद्योग, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ। लगानीको लागि ऐन, कानुनहरु बनाएर मात्रै हुँदैन। यी सबै कुराहरु व्यवहारिक रुपमा लागु गर्नुपछ । मिठा र राम्रा कुरा गरेर हुँदैन्।’
महतले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए। त्यस्तै, उनले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘प्रशासनिक व्यवस्थापन गतिलो बनाउनुपर्छ। अहिलेपनि धेरै भन्झटिलो छ।’
एकद्धारा प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपनि कुनै काम गर्दा दर्जनौं कार्यालयहरु धाउनुपर्ने बाध्यता विद्यमान रहेको कुरा उद्योगी तथा व्यवसायीहरुले गुनासो गर्ने गरेको उनले सुनाए।
तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भिर समिक्षा गर्नुपर्ने धारणा राखे। उनले भने, ‘के-कति कारणले प्रतिबद्धता गरिएअनुसार लगानी आएन? यसबारेमा समिक्षा गर्नुपर्छ। त्यतिवेला मैले पनि ‘कि-नोट स्पिच’ दिएको थिएँ, १४ खर्बको प्रतिबद्धता आएको थियो। तर, अहिलेसम्म त्यो प्रतिबद्धताको एक फ्याक्शन पनि लगानी आएको छैन्।’