पुस १७, काठमाडौँ । संसद्को सार्वजनिक सुनुवाइ समितिले चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको छ।
समितिले सुनुवाइ सकिएलगत्तै जबरालाई प्रधानन्यायाधीशका लागि अनुमाेदन गरेकाे हाे। यसअघि बीचैमा संसद्का कर्मचारीहरू हिँडेपछि आइतबार स्थगित भएकाे सुनुवाइ मंगलबार सकिएकाे हाे।
जबराले सुनुवाइका क्रममा समितिका सदस्यहरूबाट साेधिएका प्रश्नहरूकाे जवाफ दिएका थिए। आफूउपर लगाइएका आरोप तथा उजुरीहरुबारे प्रतिक्रिया दिँदै समितिमा जबराले भने, आफैँले आफ्नो अनुहार कोतरेरर घाउ बनाएर जाने छैन।
समितिबाट अस्वीकृत न्यायाधीश दीपकराज जोशीले जथाभावी आदेश गरेको भन्दै योगेश भट्टराईले उठाएको प्रश्नको जवाफ दिने क्रममा जबराले संसदीय समितिको यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। यस्तै, जुवा, प्रेरणा र छप्कैया पोखरीको मुद्दाका बारेमा साेधिएकाे प्रश्नमा उनले कुनै पनि मुद्दामा आफ्नो बदनियत नरहेको दाबी गरे।
गोपाल पराजुलीको जन्म मिति विवाद तथा कान्तिपुर विरुद्धको अवहेलना मुद्दाको सुनुवाइको क्रममा आफूले छुट्टै आदेश दिएको स्मरण गराउँदै उनले न्यायालयको मर्यादा जोगाउन पराजुलीले तोकेको इजलासमा बस्न नचाहेको बताएका थिए। उनले भने, हाम्रो कर्म र व्यवहारबाट इजलाश बहिष्कार भन्ने देखिँदैथ्यो। त्यो पत्रकारहरुको शब्द हो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदावधि आज सकिँदैछ। उनी उमेर हदका कारण अवकाश हुन लागेका हुन्। प्रधानन्यायाधीकाे रूपमा जबराकाे कार्यकाल चार वर्षको हुनेछ।