पुस १६, काठमाडौँ। नेपाली कांग्रेसका संस्थापक नेता स्व. बीपी कोइराला आफ्नो निर्वासित जीवन परित्याग गरी वि.सं. २०३३ साल पुस १६ गते भारतबाट स्वदेश फर्किए। स्वदेश फर्कनुअघि उनले राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गरेका थिए। मुलुकमा राष्ट्रियताको अभावका कारण विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन थालेकाले आफूमाथि जस्तोसुकै संकट आइपरे पनि स्वदेश फर्कने निर्णय लिएको बताउँदै उनी स्वदेश फर्किएका थिए। नेपाल त्यतिखेर तानाशाही राजतन्त्रको कुचक्रमा छटपटाइरहेको थियो।
[postads]
पञ्चायती कालरात्रिको मध्याह्न थियो त्यो बेला। बीपीलाई जस्तोसुकै सजाय पनि हुन सक्थ्यो। नभन्दै बीपी स्वदेश फर्किएलगत्तै २०३३ साल माघ १३ मा पोखरामा आयोजित एक पञ्चर्यालीलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीले देशद्रोही र राजद्रोही बीपी कोइरालालाई कडा कारबाही गरिने बताए। बीपी र उनका सहयोगीहरूका विरुद्धमा नेपालमा राजकाज अपराध ऐनअन्तर्गत विभिन्न नौवटा संगीन मुद्दा दायर गरिएका थिए। ती मुद्दामा सर्वस्वहरण, जन्मकैद र प्राणदण्ड समेतको माग गरिएको थियो। त्यही समयमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले बीपीलाई फाँसीको सजाय दिनुपर्ने माग गरिरहेका थिए। यस्तो अवस्थामा बीपी राष्ट्रिय मेलमिलाप नीतिको प्रतिपादन गर्दै पुस १६ गतेका दिन स्वदेश फर्किए।
यही सन्दर्भलाई लिएर नेपाली कांग्रेसले हरेक वर्ष मेलमिलाप नीतिको स्मरण गर्दै यसलाई एउटा पर्वकै रूपमा मनाउँदै आएको छ। यही सन्दर्भमा नेपाली पब्लिक डटकमले कांग्रेसका केही युवा नेताहरूसँग मेलमिलाप दिवसको सान्दर्भिकता र औचित्यका बारेमा संवाद गरेको थियो। प्रस्तुत छ, संवादको सारांश र स्व. कोइरालाद्वारा वि.सं. २०३३ पुस १६ गते नेपाली जनताको नाममा गरिएको राष्ट्रिय मेलमिलापको अपिल र अन्य सान्दर्भिक सामग्रीः
राष्ट्रिय मेलमिलापको नीति वर्तमानमा अझ बढी सान्दर्भिक र औचित्यपूर्ण भएको छ
शेखर कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
वि.सं. २०३३ सालमा जब महामानव विपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनु भयो, त्यति बेला विश्वमा शितयुद्ध चलिरहेको थियो। विपी कोइराला भारतमा निर्वासित जीवन बिताइरहनु भएको थियाे। नेपाल राष्ट्रियता झन् कमजोर भइरहेको थियो। विश्वको तत्कालीन अवस्थाको मूल्यांकन गरी विपीले राष्ट्र रहेमात्रै हामी रहन्छौँ भन्ने सोचका साथ मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको हो। उहाँले राष्ट्रियताका सवालमा राजासँग मेरो घाँटी जोडिएको र प्रजातन्त्रका लागि जनतासँग सम्बन्ध रहेको बताउनु भएको थियो। अहिले नेपालमा राजतन्त्र छैन। तर, विपीको राष्ट्रिय एकता र मेलमिलाप नीति अझै सान्दर्भिक भएको छ। सामरिक दृष्टिकोणले नेपाल दुई ठूला देशको बीचमा छ। नेपाललाई सार्वभौम राष्ट्र बनाउन र नागरिकलाई अधिकार सम्पन्न बनाउन पनि मेलमिलाप नीति अझै बढी सान्दर्भिक भएको छ।

पछिल्लो समय परराष्ट्र मन्त्रीको अमेरिका भ्रमण र अमेरिकाले नेपालमाथि देखाएको चासोले पनि नेपालको आन्तरिक एकता अझ मजबुत हुन आवश्यक देखिन्छ। एउटा एनजिओको कार्यक्रममा प्रधानमन्त्री एवं सरकार प्रमुखको प्रत्यक्ष सक्रियता र होटलमा ३ दिनको बासले राष्ट्रियताको अवस्था कस्तो छ भन्ने संकेत गर्छ। त्यसमाथि प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावादी व्यवहारबाट नेपाल राष्ट्र र लोकतन्त्रमाथि उत्पन्न खतराले पनि विपीको राष्ट्रिय मेलमिलापको नीति अझै बढी सान्दर्भिक र औचित्यपूर्ण भएको छ।
राष्ट्रिय एकता र मेलमिलापको नीति जहिले पनि सान्दर्भिक र चिरस्थायी हुन्छ
विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस
नेपाली विविधताका कारण पनि विपी कोइरालाका राष्ट्रिय एकता र मेलमिलापको नीति जहिल्यै पनि सान्दर्भिक हुन्छ।

नेपालमा भिन्नताका बीचमा अभिन्नता छ। यसलाई अझ सशक्त बनाउन नै मेलमिलाप नीति औचित्यपूर्ण छ। विपी कोइरालाले लोकतन्त्रका लागि नै यो नीति अघि सार्नु भएको थियो, राजासँग मिलेर जान खोज्नु भएको थियो। तर, राजाले लोकतन्त्र मानेका भए अहिलेको अवस्था आउने थिएन। लोकतन्त्रलाई मास्ने स्वार्थका कारण राजा गए। लोकतन्त्रलाई मान्ने शर्तका कारण माओवादी आए। एकता र मेलमिलापको विकल्प छैन। त्यसैले विपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सान्दर्भिकता र औचित्य अझै बढ्न गएको हो।
राष्ट्रियताका खातिर राष्ट्रिय एकता एवं मेलमिलाप नीति
धनराज गुरुङ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
विपी कोइरालाले राष्ट्रियताका खातिर उठाउनु भएको एकदमै महत्वपूर्ण कदम हो – राष्ट्रिय एकता एवं मेलमिलाप नीति।

राष्ट्रभित्रका सबै शक्तिलाई एकीकृत गर्ने र लोकतन्त्रमाथिका आन्तरिक र बाह्य षड्यन्त्रलाई चिर्ने प्रयास थियो विपीको। त्यसका लागि आन्तरिक र बाह्य एकतालाई सशक्त बनाउनु नै उहाँको लक्ष्य थियो।
वि.सं. २०३२ सालमा भारतले सिक्किम देशलाई भारतमा गाभेपछि इन्दिरा गान्धीको नजर नेपालको तराई–मधेशतिर थियो। आन्तरिक लोकतन्त्र कमजोर भएका बेला मुलुकको सार्वभौम सत्ताको रक्षा गर्न पनि उहाँले एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनु भएको थियो। त्यसैले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न पनि विपीको उक्त नीति सान्दर्भिक र आवश्यक छ।
रणनीतिक र आदर्शका हिसाबले पनि बीपीको मेलमिलाप नीति अपरिहार्य छ
महालक्ष्मी उपाध्याय डिना, नेतृ, नेपाली कांग्रेस
नेपालको राष्ट्रियतामाथि नै गम्भीर आक्रमण र षड्यन्त्रहरु हुन थालेपछि विपी कोइराला वि.सं. २०३३ सालमा स्वदेश फर्किनु भयो।

गणेशमान सिंहले अहिले फर्किन ठिक छैन भन्दा–भन्दै पनि विपी राष्ट्रिय एकता र मेलमिलापको नीतिका साथ नेपाल फर्किनु भयो। प्रजातन्त्रका लागि र राष्ट्रियताका लागि उहाँले यो कदम चाल्नु भएको थियो। नेपालको अहिलेको सन्दर्भका विपीको नीति अझै अपरिहार्य भएको छ। दुई ठूला देशको बीचमा रहेको नेपालमा हुने बाह्य चलखेललाई रोक्नका लागि पहिले आन्तरिक रुपमा बलियो हुनुपर्छ। त्यसैले रणनीतिक र आदर्शका हिसाबले पनि विपीको मेलमिलाप नीति अपरिहार्य छ।
विकास, समृद्धि र लोकतन्त्रको स्थायित्वका लागी राष्ट्रिय एकता र मेलमिलाप आवश्यक
गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
राष्ट्रिय एकताको आधारमा मात्रै समृद्धि हासिल हुन सक्छ।

वि.सं. २०३३ साल पुस १६ गते विपी कोइरालाले विकास र समृद्ध नेपालको परिकल्पनासहित राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको हो। राष्ट्र बनाउनका लागि काम गर्ने ताकत हासिल गर्नका लागि आन्तरिक लोकतन्त्र बलियो बनाउनु पर्छ। सबै वर्ग क्षेत्र, लिंग, वर्ण र हरेक क्षेत्रका नेपालीमा राष्ट्रियता र एकताको भावना प्रबल बन्नुपर्छ। तब मात्रै लोकतन्त्र बलियो हुन्छ। अहिले पनि नेपालमा हरेक क्षेत्र नागरिकलाई अधिकार सम्पन्न बनाएर बलियो एकता कायम गर्नुपर्छ। तब मात्रै विकास र समृद्धि सम्भव छ।
वि.सं. २०३३ पुस १६ गते बीपी कोइरालाद्वारा गरिएको राष्ट्रिय मेलमिलापको अपिल
लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदै छौँ। यस अवसरमा एक, दुई शब्द देशबासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्दछु। हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ। यता केही वर्षदेखि यो सङ्कट चर्किंदै गएको कुरा सबैले महसूस गरेकै हो। यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ। यस तथ्यलाई अरूले पनि स्वीकारेका छन्। महाराजाधिराजलगायत सबैले बखतबखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन्।
यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कंदैछौँ। हाम्रो विचारमा अस्तित्वको सङ्कट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन सफल हुन थालेका छन्। राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ। यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ। कोरा नाराले मात्र हुने भए बितेका १३ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यस सोचनीय स्थितिमा देशले पुग्नुपर्ने थिएन। आज देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ। यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ।
हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नयाँ आयम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। त्यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने। हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौं। राष्ट्रियता र प्रजातन्त्र भन्नुको तात्पर्य के हो भने प्रजातन्त्र प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ। यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेको हुनेछौँ र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय सङ्कट निवारणमा हाम्रो योगदन रहँदैन। त्यति मात्र होइन, यस्तो एक एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौँ।
त्यस्तै, यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्याे भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ। र, अधिनायकवादको पक्षधर हुन पुग्छौं। यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने मनोबल देशबासीमा पैदा गर्न सक्दैन। त्यसो हुनाले हामीले यो कुरा पनि बुझ्नुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ। तसर्थ, हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति एकअर्कामा आधारित तत्व हुन्।
नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ। २००७ सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन। त्यसपछि आमचुनावलाई सदाका लागि स्थागित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो। त्यस आन्दोलनमा धेरै अन्य दलहरूको सहयोग पनि हामीलाई प्राप्त भएको थियो। २०१७ सालमा प्रजातन्त्र उपरको निर्मम एवं सांघातिक प्रहारपछि नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा संघर्ष (Resistance Movement) गर्यो र आज देशउपरको खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक निर्णय लिएका छौं, जुन निर्णय नेपाली कांग्रेसको परम्पराअनुरूप छ।
प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ। हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ। हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ कि हामीमाथि यो सम्भावित खतरा राष्ट्रको अस्तित्व खतराको सामु नगण्य भन्ठानेर नै यो ऐतिहासक निर्णय हामीले लिएका हौँ। नेपाली कांग्रेसका कार्यकर्ताहरूले पनि पार्र्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन्।
यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। ‘राष्ट्र रहेन भने हामी रहन्नौँ’ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ। मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु। यस वक्तव्यद्वारा म नेपाली कांग्रेसको अध्यक्षको हैसियताले सारा देशबासीलाई अपिल गर्न चाहन्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौँ। मैले अवसर पाएको खण्डमा महाराजाधिराजका समक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु। राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी हो।
जय नेपाल १
२०३३ पुस १६
विश्वेश्वरप्रसाद कोइराला
अध्यक्ष, नेपाली कांग्रेस
(अपील साभार — विश्वेश्वरप्रसाद कोइरालाको आत्मावृत्तान्त)