पुस १५, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आईतबार काठमाडौँमा आयोजित रोडस् बोर्ड, नेपालको १६ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री महासेठले आगामी चैत्र महिनाभित्र काठमाडौँको सडकलाई व्यवस्थित बनाउने गरी सडक विभाग, रोडस् बोर्ड, नेपाललगायतका संस्थाहरुलाई सरकारले गतिशील बनाईरहेको दाबी गरे ।
उनले इमानदार ढङ्गले काम नगर्ने सडक विभाग, रोडस् बोर्ड लगायतका संस्थामाथि कडा कारबाही गर्ने चेतावनी पनि दिए । मन्त्री महासेठले सडक विभागकै कारण काठमाडौँको सडकमा जनताको अपेक्षा अनुसार सुधार आउन नसकेको पनि स्पष्ट पारे ।
मन्त्री महासेठले संवैधानिक व्यवस्था अनुकूल हुने गरी सडक ऐन संशोधनको कामलाई अघि बढाइएको पनि स्पष्ट पारे । उनले सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको पनि उनले जानकारी दिए ।
मन्त्री महासेठले कानुन र संरचना निर्माणमा धेरै समय दिनुपरेकाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्पष्टिकरण दिए । उनले सडकको कामलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा पनि रोडस् बोर्ड, नेपालको कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए ।