काठमाडौँ, १५ पुस । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भएका छन्।
११औँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। सोमबार र मङ्गलबार तीन–तीन तथा बुधबार एक खेल हुनेछ।
सोमबारको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबको सामना गर्नेछ। त्यस्तै, दोस्रो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ। दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुनेछन्। सोमबार नै हुने तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ। उक्त खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ।
एघारौँ चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लब लिग विजेता बनिसकेको छ। उसले दुई खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो। लिगमा शतप्रतिशत नतिजासहित ३३ अङ्क जोडेको मनाङलले ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै आठौँ पटक लिग च्याम्पियन बन्यो।
उपाधिसँगै मनाङले रु ५० लाख पक्का गरेको छ। मनाङले यसअघि सात पटक उपाधि जितिसकेको छ। लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। सङ्कटा २५ अङ्कसाथ दोस्रो स्थानमा छ भने थ्रिस्टार २३ अङ्कसाथ तेस्रो स्थानमा छ। त्रिभुवन आर्मी २१ अङ्कका साथ चौथो र १८ अङ्कका साथ नेपाल पुलिस क्लब पाँचाैँ स्थानमा छ।
त्यसैगरी १७ अङ्कसहित हिमालयन शेर्पा छैटाैँ, समान १७ अङ्क जोडेको सशस्त्र प्रहरी बल (एपिएफ) सातौँ, १५ अङ्कसहित च्यासल युथ क्लब आठौँ र ११ अङ्क जोडेको जावलाखेल युथ क्लब नवौँ स्थानमा छ। १० अङ्क जोडेको सरस्वती दशाैँ स्थानमा छ । त्यस्तै, ९ अङ्क जोडेको फ्रेण्डस क्लब एघारौँ स्थानमा छ। ६–६ अङ्क रहेको मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब क्रमशः बाह्राैँ र तेह्राैँ स्थानमा छन्। न्यूरोड टिम (एनआरटी) पाँच अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ।