काठमाडाैँ - सिरहाको लहानमा जारी सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद बैठकमा नेपाल प्रहरीलाई समेत बाहिर निकालिएको छ। कार्यक्रमस्थलको सुरक्षा दिइरहेका सीकेका आन्तरिक सुरक्षा दस्ताले मूलगेटबाटै नेपाल प्रहरीलाई प्रवेश गर्न दिएको छैन। भित्र प्रवेश गर्न नपाएपछि प्रहरीले मूलगेटबाहिर सडकमा उभिएर सुरक्षा दिइरहेको छ।
लहान नगरपालिका -७ स्थित मारवाडी सेवा सदनमा ११ बजेबाट शुरु भएको बैठकमा तराईका २२ जिल्लाबाट परिषद सदस्यहरु सहभागी छन्। परिषद बैठकका लागि स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत बिहान ९ बजे जनकपुरबाट लहान पुगेका थिए। उनको प्रवेशसँगै कार्यक्रमस्थल मारवाडी सेवा सदनको सुरक्षा कडा पारिएको छ।
कडा सुरक्षा जाँचपछि मात्र भित्र प्रवेश दिइएको कार्यक्रमस्थलको गेटमै नागरिकताको प्रमाणपत्र, परिचयपत्र अनिवार्य जाँच गराउनुपर्छ।
सहभागी परिषद सदस्यमाझ राउतले सहमतिका बुँदामा उल्लेखित शब्दहरुमाथि पनि सूक्ष्म र गहन छलफल चलाउने बताइएकाे छ। सहमतिलाई जनतामाझ कसरी लिएर जाने, जनताको जिज्ञासालाई कसरी सम्बोधन गर्ने, संगठनलाई अझ सशक्त रुपमा कसरी संगठित बनाउने? राजनीतिक रुपमा कुन रणनीतिका साथ जनतामा जाने लगायतका विषय बैठकमा छलफलको विषय हुने गठबन्धन स्रोतले बताएको छ।