बुटवल - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदीय व्यवस्था विवादमा नआवोस् भनेर आफ्नो पार्टी सदनमा रचनात्मक र नरम रुपमा प्रस्तुत भइरहेको बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।
भौगोलिक, सांस्कृतिक, धार्मिक विविधता भएको नेपालका लागि सबैभन्दा उपयुक्त व्यवस्था संसदीय व्यवस्था भएको र त्यसमाथि प्रहार भई कमजोर नहोस् भनेर नै कांग्रेस सदनमा रचनात्मक भूमिका निर्वाह गरेको नेता खाँडले बताए। उनले भने, ‘पार्टी कार्यकर्ता, शुभेच्छुक र आमनागरिकको कांग्रेस सदनमा आवश्यक रुपमा आक्रमक नै भइदियोस् भन्ने चाहना छ। कांग्रेस नरम भयो भन्ने आरोप छ तर संसदीय व्यवस्था विवादमा नआवोस् र कमजोर नहोस् भनेर हामी नरम भएका हौँ।’
फरक प्रसंगमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले सरकारले विप्लवलाई निषेधको राजनीति गरिहाल्ने अवस्था नरहेको बताए। विप्लवको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन गम्भिर बन्नुपर्ने बताउँदै उनले वार्ता र संवादको ढोका बन्द गर्न नहुनेमा जोड दिए।
उनले विप्लवलाई पनि वार्ता र सहमतिबाटै समाधान खोज्न आग्रह गरे। उनले भने, ‘मुलुकले फेरि अर्को द्वन्द्व थेग्न सक्दैन।’ सीके राउतसँग भएका सहमतिका बुँदाहरुमा अस्पष्टता रहेको बताउँदै राउतले भनेजस्तै मुलुकलाई खण्डित गर्ने विषयमा जनमत संग्रह हुनै नसक्ने नेता खाँडको भनाई थियो।
संविधानमा नभएका कुराहरुमा पनि सरकारले प्रतिवद्धता जनाएजस्तो सहमतिका बुँदामा रहेको उनले बताए। उनले सरकार र सीके राउतलाई सहमतिमा साझा धारणा सार्वजनिक गर्न माग गरे। सीके राउत समूह राजनीतिको मुलधारमा आउनु राम्रो कुरा भए पनि सहमतिको भोलिपल्टै उनका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराबाजीले आशंका बढाएको खाँडले बताए।