सुर्खेत - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी संविधानअनुसार दर्ता नभएकाले आधिकारिक नभएको पार्टी बताएका छन्।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक प्रादेशिक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले जनताको जीउधनको सुरक्षा गर्ने जिम्मा सरकारको भएकाले प्रतिबन्धलाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजाने जानकारी दिए। सरकारले कसैको राजनीतिक आस्थामाथि प्रतिबन्ध नलगाएको बताउँदै संविधानविरोधी क्रियाकलापलाई प्रतिबन्ध लगाईएको मन्त्री ढकालको भनाई थियो।
उनका अनुसार जनप्रतिनिधिलाई धम्क्याउने, बम हान्ने, मान्छे मार्ने, चन्दा आतंक सिर्जना गर्नेजस्ता संविधानविरोधी कार्य गरेकाले प्रतिबन्ध लगाएको हो। ‘सरकारले लगाएको प्रतिबन्धप्रति प्रमुख प्रतिपक्ष दल पनि सकारात्मक रहेको छ,’ उनले भने, ‘तर पार्टीभित्र केही असन्तुष्टि देखिएजस्तो भए पनि देश नै टुक्राउँछु भन्ने विखण्डनकारी सीके राउतलाई संविधान अनुसार मूलधारमा ल्याउनसक्नु सरकारको सफलता हो, उनले भने।
मन्त्री ढकालले पुराना ३ सय ३९ वटा कानूनमध्ये पाँचवटा खारेज गरिएको र १ सय ९५ कानूनलाई संघीय संविधान अनुकुल हुनेगरी परिमार्जन गरिएको जानकारी दिए। ‘३१ वटा कानून पारित भई संसदका विभिन्न समितिहरुमा छलफलका क्रममा रहेका छन्,’ उनले भने, ‘२१ वटा कानून संसदमा लैजान मन्त्रीपरिषदबाट स्वीकृति प्राप्त भई केही दिनमै टेबुल गर्देछौँ।’
आगामी चुनावमा प्रदेशका सांसदले संघमा जाने, संघकाले प्रदेशमा आउनसक्ने र स्थानीय तहका जनप्रतिनिधिले प्रदेश तथा संघमा जाने अवस्था सिर्जना हुने भन्दै उनले गम्भिर भएर काम गर्न सबैलाई आग्रह गरे।