पुस १३, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन् । यसका लागि मन्त्री यादवले उत्पादन बढाउनु पर्नेमा पनि जोड दिए ।
१५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७५ को शुक्रबार उट्घाटन गर्दै मन्त्री यादवले उपभोक्तालाई स्वदेशी जुत्ता नै लगाउन पनि आग्रह गरे ।
‘राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूल नाराका साथ फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले आजबाट प्रदर्शनीको आयोजना गरेको हो । भृकुटीमण्डपस्थित मुख्य हलमा शुरु प्रदर्शनी १९ गतेसम्म चल्नेछ ।
उद्घाटन कार्यक्रममा मन्त्री यादवले विभिन्न क्षेत्रबाट आएका उद्योगीहरुलाई सरकार उद्योग विस्तारका लागि भरपुर लागिपरिरहेको बताए । उद्योग ऐनहरुमा पनि आवश्यकता अनुसार संशोधन गर्दै लगिने उनको भनाई थियो ।
कार्यक्रममा मन्त्री यादवले विभिन्न क्षेत्रबाट आएका उद्योगकर्मीलाई सरकार उद्योग विस्तारका लागि भरपुर लागि परिरहेको र उद्योग ऐनहरुमा पनि फेरबदल गरेर उद्योगलाई उजागर गर्न सहयोग गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, नेपाल २५ जनाको मन्त्रीमण्डलले मात्रै बन्दैन । देशका सबै क्षेत्रका व्यक्तित्त्वको सहकार्यले देश बनाउनु पर्छ ।
सुखी नेपाली, सम्वृद्ध नेपाल’लाई सार्थक बनाउन उद्योग संस्था र उद्योगीहरुले समानुपातिक रुपमा सरकारलाई विशेष सहयोग गर्नुपर्नेमा यादवले जोड दिएका छन् ।
मन्त्री यादवले नेपाली जुत्ता गुणस्तरीय रहेको भन्दै प्रशंसासमेत गरेका छन् । सोही अवसरमा मन्त्री यादवले फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको स्मारिकाको पनि विमोचन गरे ।
कार्यक्रममा मन्त्री यादवका साथै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णकुमार फुयाँल, आयोजक समितिका संयोजक नवराज गौतम, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल च्याम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले शुभकामना मन्तव राखेका थिए ।