पुस १३, एजेन्सी । टेनिसका नोभाक जोकोभिचलाई पछि पार्दै फुटबलर लुका मोड्रिचले बाल्कन एथ्लेट अफ द इअर को अवार्ड जितेका छन् ।
क्रोएसियाली फुटबल टोलीका कप्तान मोड्रिच सन् १९९४ पछि यो अवार्ड जित्ने पहिलो फुटबल खेलाडी बनेका छन् । यसअघि सन् १९९४ मा बुल्गेरियाका फुटबलर हिस्टो इस्टोकोभले जितेका थिए ।
यस वर्ष उत्कृष्ट फर्ममा रहेका मोड्रिचले विश्वकै उत्कृष्ट खेलाडीको अवार्डका साथै युरोपियन अवार्डसमेत जितिसकेका छन् । गत सिजन रियल मड्रिडबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका मोड्रिचले क्रोएसियालाई रुसमा भएको विश्वकप फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको कप्तानीमा क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको थियो । तर, फ्रान्ससँग ४-२ ले पराजित भएपछि उपाधि जित्नबाट वञ्चित बनेको थियो ।
यसैगरी, मोड्रिचले फिफाले प्रदान गर्ने द बेस्ट अवार्ड र मेसी र रोनाल्डोको १० वर्षे वर्चश्वलाई तोड्दै फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने बालोन डी ओर अवार्ड यसअघि नै जितिसकेका छन् । करियरकै उत्कृष्ट मोडमा रहेका मोड्रिचले युरोपियन प्लेअर अफ द इअर को अवार्ड पनि जितेका छन् । मोड्रिचको सलफताले भरिएको यसवर्षको संकलनमा विश्वकपमा उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल पनि रहेको छ ।
बाल्कन एथ्लेट अवार्ड जित्ने क्रममा सर्वियाका टेनिस खेलाडी नोभाक जोकोभिचलाई ३३ वर्षीय मोड्रिचले ७५ प्वाइन्टले पछाडि पारेका छन् । जोकोभिचले सन् २०११ देखि २०१५ सम्म बढी भोट पाएका थिए।
अवार्ड ग्रहण गर्दै मोड्रिचले भने, यो ठूलो सम्मान हो, म अरु सबै एथ्लेटलाई बधाई दिन चाहन्छु ।
यस्तै, डिस्कस थ्रो को क्वीन मानिने क्रोएसियाकै सान्द्रा पेरकोभिचले बाल्कन वुमन एथ्लेट को अवार्ड हात पारेकी छन् ।