पुस १३, काठमाडौँ । ‘राष्ट्रियसभा नियमावली २०७५’ संशोधन हुने भएको छ । नियमावली संशोधन गर्न शुक्रबार बसेको राष्ट्रियसभा बैठकले मस्यौदा समिति गठन गरेको हो । २०७५ को नियम २३६ बमोजिम राष्ट्रियसभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन भएको हो ।
समितिमा जितेन्द्रनारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा (पार्वती), परशुराम मेघी गुरुङ, प्रमिला कुमारी, रामनारायण विडारी, विन्दादेवी आले (राना), वृषेशचन्द्र लाल र शेरबहादुर कुँवर सदस्य छन् । नियमावलीमा एउटा बैठक र अर्को बैठकको दूरी सात दिनभन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले बिजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संशोधन गर्न लागिएको हो ।
बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने हालको व्यवस्थाको पनि संशोधन गरिने भएको छ । हालको प्रावधानअनुसार अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै संशोधनको तयारी गरिएको हो । बैठकमा राहदानी विधेयक २०७५ पनि पेश भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५ माथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयक माथिको संशोधन प्रस्तावका लागि पुस १६ गते अपराह्न १ बजेसम्मको तोकिएको छ ।