जनकपुरधाम - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनअभिमतको आशय जनमत सङ्ग्रहमा जाने सहमति नभई निर्वाचन भएकाे बताए। उनले डा. सीके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताएका छन्।
यहाँ आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राउतसँगकाे सहमतिपत्रमा तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य उल्लेख गरिएको थियाे।
सहमतिपत्रका हस्ताक्षरकर्ता र कार्यकर्ताले सहमतिको पूर्णपालन नगरेमा सरकारले एक्सन लिने बताउँदै मन्त्री पण्डितले संविधानविरोधी गतिविधि सह्य नहुने धारणा राखे। एक प्रश्नको जवाफमा मन्त्री पण्डितले सरकारले विप्लवसँग युद्ध निम्त्याउने कार्य नगरेको स्पष्ट गर्दै मूलधारमा आउन ढोका खोलेको बताए।
उनले वार्तामा आउनका लागि सधैँ ढोका खुला छ भन्दै सरकारले सबैलाई मूलधारमा ल्याउन चाहेको बताए। मन्त्री पण्डितले १५ दिनभित्र समायोजनका सम्पूर्ण कार्य सम्पन्न हुने बताउँदै लोकसेवा आयोगले कर्मचारीको अभावलाई पूरा गर्न १५ देखि २० हजार नयाँ भर्नाका लागि विज्ञापनको तयारी गरिरहेको जानकारी गराए।