पुस १३, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको छ।
मंसिर २९ गतेदखि शुरू भएको स्थायी समितिको बैठकमा शुक्रबार नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन ‘अनन्त’, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, वेदुराम भुसाल, रघुवीर महासेठ र योगश भट्टराईलाई सहभागी गराइएको छ ।
सो कार्यदललाई पार्टीको सांगठनिक एकता, एकताको मापदण्ड र विधान संशोधनको सुझाव सहितको प्रस्ताव तयार गरी प्रस्तुत गर्ने जिम्मेवारी दिइएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै गठित कार्यदलबाट प्रस्ताव आउन र केन्द्रीय सचिवालय बैठक हुँदै स्थायी समितिको बैठकबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उक्त कार्यदलले आगामी १५ दिनभित्र स्थायी समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने अन्तिम समय तोकिएको छ ।
बैठकको पहिलो दिन अध्यक्षद्वय ओली र दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका व्यापक टिप्पणी र सुझाव समेटेर नयाँ राजनीतिक प्रतिवेदन बनाउन अध्यक्षद्वय ओली र दाहाल सहमत हुनुभएको छ ।
केन्द्रीय सचिवालयको बैठकले छिटो भन्दा छिटो उक्त प्रतिवेदन परिमार्जन गरेर पारित गर्ने सहमति भएपछि हालसम्म पार्टी र सरकार नेतृत्वको कार्यशैलीमाथि विरोध गर्दै आएका स्थायी समिति सदस्यहरुले त्यसलाई सकारात्मकरुपमा लिँदै आशावादी देखिएका छन् ।
शुक्रबार युवराज ज्ञवाली, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, भीम रावल, वेद्राम भुसाल र अष्टलक्ष्मी शाक्यले अध्यक्षद्धयद्धारा प्रस्तुत प्रतिवेदन कसरी परिमार्जन गर्ने भन्ने विषयमा आफ्नो विचार पुनः प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले संगठनको विस्तार मापदण्डका आधारमा हुनुपर्ने माग समेत राख्नुभएको थियो ।