पुस १३, एजेन्सी । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले सरस्वती युवा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको हो ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा शुक्रबार भएको सरस्वती विरुद्धको खेलमा आर्मी भारी गोलअन्तरले विजयी भएको हो । यो जितसँगै ११ खेलबाट आर्मीले २१ अङ्कसहित लिग तालिकाको चौथो स्थानमा यथावत छ।
आर्मीको जितमा फरवार्ड नवयुग श्रेष्ठले एक तथा कप्तान भरत खवासले दुई गोल गरे । खेलको सातौँ मिनेटमा दीपक गुरुङको पासलाई सदुपयोग गर्दै नवयुगले करिब ६ यार्डबाट गरेको प्रहारले जाली चुमेपछि आर्मीले शुरुआती अग्रता लिएको थियो ।
खेलमा हावी रहेको आर्मीका लागि ३०औँ मिनेटमा कप्तान भरत खवासले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । आर्मीका कप्तान खवासलाई पेनाल्टी एरियामा लडाएपछि सरस्वतीका सुमन लामा दोस्रो पहेँले कार्ड पाउँदै खेलबाट बाहिरिएका थिए ।
आर्मीको पक्षमा २–० गोलको नतिजामा पहिलो हाफको खेल टुङ्गिएको थियो । १० जनामा समेटिएको सरस्वतीविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएको आर्मीले दोस्रो हाफमा पनि समान दुई गोल थप्यो । खेलको ६१औँ मिनेटमा आर्मीका कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गर्दै ३ गोलले टोलीलाई अग्रता दिलाएका थिए ।
उनले सन्तोष तामाङको फ्रिकिक बललाई सरस्वतीका गोलरक्षक प्रदीप भण्डारीले नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए ।
सरस्वतीका विदेशी खेलाडी ओलुसोला एब्राहिमले आत्मघाती गोल गरेपछि आर्मीले ४–० गोलअन्तरले नतिजा आफ्नो पक्षमा पारेको हो । एघार खेल खेलेको सरस्वती १० अङ्कसहित तालिकाको दशौँ स्थानमा छ । खेलमा म्यान अफ द म्याच आर्मीका कप्तान भरत खवास चुनिए ।