किशोर विश्वकर्मा, विराटनगर - राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादीरले सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतबीच भएको सम्झौताका केही बुँदाहरुमा मधेसविरुद्ध षडयन्त्र भएको बताएका छन्।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता कादीरले सरकार र राउतबीच भएको सम्झौता स्वागतयोग्य भए पनि केही बुँदाहरुका कारण मधेसमाथि पुन: षड्यन्त्र गरिन खोजेको आरोप लगाएका हुन्। उनले आफ्नो पार्टी सँधै राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको बताउँदै सरकार र राउतले मधेसी जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए। नेता कादीरले सरकार र राउतबीच भएको ११ बुँदे सम्झौताका केही बुँदामा आफूहरुको असहमति रहेको बताए।
‘मुलुक विखण्डनको पक्षमा लाग्दै आएका राउतलाई शान्तिपूर्ण, लोकतान्त्रिक राजनितिक मुलधारमा ल्याउनसक्नु प्रधानमन्त्री केपी शर्मा ओलीको सफलता हो,’ नेता कादीरले भने, ‘तर सम्झौतामा जनमतसंग्रहको कुरा उल्लेख नभए पनि राउतले चौतर्फी झुटो प्रचारबाजी गरिरहेका छन्। यस विषयमा सरकार बोल्नुपर्छ।’
नेता कादीरले मधेसका माग कमजोर बनाउन राउतले ठुलो भूमिका खेल्दै आएको आरोप लगाए। उनले भने, ‘निर्वाचनमा राउतले ‘कोठ्ली बाहर छाप’ भन्ने अभियान चलाउनुको रहस्य बल्ल खुल्यो। उनले मधेसी जनतालाई अधिकारबाट बञ्चित गर्न खोजेको हाल आएर पुष्टि हुँदै गएको छ।’ उनले मधेसी जनतालाई अधिकार सम्पन्न बन्न नदिन राज्य पक्षले अप्रत्यक्ष रुपमा राउतलाई प्रयोग गरेको ११ बुँदे सम्झौताबाट स्पष्ट भएको बताए।
सरकारले राउतलाई सुनियोजित रुपमा मधेसविरुद्ध प्रयोग गरेको उनको दाबी थियो। नेता कादीरले विगतमा सरकार र मधेसवादी दलबीच भएको सहमति कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर नभएको आरोप लगाउँदै अब मेचीदेखि महाकालीसम्म ‘समग्र मधेस, एक प्रदेश’को एजेण्डा लिएर अघि बढ्नु पर्नेमा जोड दिए। जनताबाट अत्याधिक मत ल्याएर निर्वाचित रेशम चौधरीलाई फसाएर सरकारले मधेसमाथि पुनः दमन गरिरहेको उनको भनाई थियो।