पुस १३, एजेन्सी। प्रिमियर लिग फुटबलको १९औँ चरणको अन्तिम खेलमा साउथह्याम्टन पराजित भएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा पाहुना टोली वेस्टह्यामविरुद्ध साउथह्याम्टन २–१ गोल अन्तरले पराजित भएको हो ।
नेपाली समयअनुसार राति साढे १ बजे शुरु भएको खेलको दोस्रो मिनेटमै साउथह्याम्टनका नाथान रेडमण्डले डि–बक्स बाहिरबाट गोलको प्रयास गरेका थिए । तर, रेडमण्डको प्रहार वेस्टह्यामका पोलिस गोलकिपर फ्याबियान्स्कीले बचाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको १९औँ मिनेटमा वेस्टह्यामका रोबर्ट स्नोडग्रासले गरेको प्रहार पनि विपक्षी टिमका गोलकिपरले बचाएका थिए । दुवै पक्षबाट गोलका लागि सुन्दर मौका सिर्जना भए पनि गोल हुन नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हाफमा पनि आक्रामक शुरुआत गरेको साउथह्याम्टनका कप्तान रोमेयुले ५०औँ मिनेटमा डि–बक्स भित्रबाट गरेको प्रहार पनि गोलमा परिणत हुन सकेन । अग्रताका लागि निरन्तर कोसिस गरिरहेको घरेलु टोली साउथह्याम्टनले खेलको ५०औँ मिनेटमा रेडमण्डको गोलबाट अग्रता हासिल गर्यो ।
लगातार प्रहार गरिरहेका रेडमण्डले पोस्टनजिकैबाट गरेको तेस्रो प्रहार गोलमा परिणत भएको थियो । उक्त गोलसँगै पछाडि परेको पाहुना टोलीले आक्रामक खेल प्रस्तुत गर्दै ३ मिनेटलगत्तै जवाफी गोल फर्काएको थियो ।
ब्राजिली मूलका मिडफिल्डर फिलिपे हेण्डरसनले पेनाल्टी एरिया बाहिरबाट सुन्दर गोल गर्दै वेस्टह्यामलाई खेलमा फर्काएका थिए । दोस्रो हाफको शुरुआतमा अग्रता लिएको साउथह्याम्टन ५९औँ मिनेटमा २–१ गोल अन्तरले पछि पर्यो ।
आक्रामक शैलीमा खेलमा फर्किएको वेस्टह्यामका लागि व्यक्तिगत दोस्रो गोल गर्दै फिलिपे हेण्डरसनले अग्रता दिलाएका थिए । अतिरिक्तसहित बाँकी ३६ मिनेटको खेलमा गोल फर्काउन नसकेपछि साउथह्याम्टन अक्टोबरयता पहिलोपटक घरेलु मैदानमा पराजित भएको हो ।
यो जितसँगै वेस्टह्याम १९ खेलबाट २७ अङ्क जोड्दै नवौँ लिग तालिकाको नवौँ स्थानमा रहेको छ । समान खेलबाट १५ अङ्क मात्र बटुेलेको साउथह्याम्टन तालिकाको १६औँ स्थानमा रहेको छ ।