पुस १३, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
मंसिर २९ गतेदेखि शुरु भएको स्थायी समिति बैठकमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । लामो छलफलपछि शुक्रबार बसेको बैठकले प्रतिवेदन पारित गरेको हो । परिमार्जित प्रतिवेदन पार्टी सचिवालयमा पेश हुने बताइएको छ ।
बैठकले संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । उक्त कार्यदलमा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, वर्षमान पुन ‘अनन्त’, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र लेखराज भट्ट रहनुभएको छ ।