पोखरा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन्। मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।
सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्नेगरी ‘जनअभिमत’ भनिएको देउवाले बताए। ‘नेपालको कुनै पनि भूभाग टुक्राएमा हामीलाई सह्य हुँदैन,’ उनले भने। पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतसँगको सम्झौता सकारात्मक भए पनि जनमतसंग्रह गर्ने शब्द राष्ट्रघाती भएको उनको आरोप छ।
सीके राउतले जनमत संग्रह भनेर बोलिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा खण्डनसमेत नगरेको भन्दै उनले आपत्ति जनाए। ‘सीके राउत नयाँ देश बनाउँछु भन्दै हिँडिरहेको छ,’ उनले भने, ‘यो वास्तवमा मूलधारको राजनीतिमा आउने कुरा होइन। सीकेले बोलेको कुरामा ओलीले खण्डन गर्नुपर्यो।’ सीकेले अलग्गै देशबाट सहमति लिए जसरी बोलिरहेको उनको आरोप छ।
सभापति देउवाले सरकारले सीके राउतले मधेसलाई छुट्टै राष्ट्र बनाउनुपर्ने भन्दै राष्ट्रघाती कार्य गरेकोमा पक्राउ गर्नुपर्ने जिकिर गरे।
ओली सरकारले एक वर्षमा केही पनि काम नगरेको उनको आरोप छ। ‘सरकारका एक वर्षको कामले जनतालाई निराश मात्रै बाँडेको छ,’ उनले भने, ‘संघीयता कमजोर बनाउने खेलमा सरकार आफँै लागेको छ।’ ओली नेतृत्वको सरकारले गरेका नकारात्मक कार्यविरुद्ध कांग्रेसले देशव्यापी रुपमा सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत उनले दिए।
पत्रकारसँग जंगिए देउवा
सोही कार्यक्रममा पत्रकारले गण्डकी मेडिकल कलेजको बारेमा प्रश्न गर्दा देउवा प्रश्नकर्तासँग जंगिए। डा. केसीको मागका विषयलाई लिएर आन्दोलन गरेको कांग्रेसले पाँच सय विद्यार्थीले आन्दोलन गर्दा किन मौन? भनेर प्रश्न गर्दा देउवा जंगिएका हुन्।
कलेजका अध्यक्ष खुमा अर्याललाई देउवासँग जोडेर प्रश्न गर्न थालेपछि उनले भने, कहाँबाट आयो त्यो कुरा? मैले के बोल्नुपर्यो? म किन जोडिने? चिकित्सा विधेयक नै मैले ल्याएको होइन। एमालेको बोर्डर नायकलाई किन भएन कारवाही? कारवाही भए सबैलाई हुनपर्यो।’