दमौली – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज (मंगलबार) आयोजना गरेको स्वागत एवं अन्तर्क्रिया कार्यक्रममा उनले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो हुनु आवश्यक रहेको बताए।
“एक्लाएक्लै हिँडेर लक्ष्य प्राप्त हुन सक्दैन,” मुख्यमन्त्री गुरुङले भने, “सङ्घ, प्रदेश र स्थानीय तहले गर्ने काममा सहकार्य र सहमति आवश्यक छ।” गण्डकीलाई समृद्ध र अब्बल प्रदेश बनाउने कुरा सरकारको मुख्य प्राथमिकतामा रहेको र त्यो पर्यटनबाट सम्भव रहेको उनको भनाइ थियो।
मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा घोषणा गरिसकेकाले त्यसलाई सफल बनाउनु सबै स्थानीय तहको कर्तव्य भएको बताए।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन विकासका लागि निजी क्षेत्रले पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने बताए। निजीक्षेत्रलाई आकर्षित गर्न प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनी प्रदेशको प्रवेशद्वार भएकाले यस क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए। (रासस)