पुस ९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार मुलुकमा एकदलीय निरङ्कुशता लाद्न उद्दत रहेको आरोप लगाउनु भएको छ ।
महासमिति बैठकको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै उहाँले सरकार नसच्चिए आन्दोलन गर्ने दिन आउने र एकदलीय निरङ्कुशता परास्त गर्नका निम्ति तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।
सभापति देउवाले महासमिति बैठकमा पेश भएका पाँचै प्रतिवेदन सर्वसम्मत पारित भएको र पार्टीको विधानमा नेपालको संविधानले व्यवस्था गरेअनुसारका समावेशीताका सबै क्लष्टरको व्यवस्था गरिएको बताउँदै विधानमा गरिएको समावेशीताअनुसार गाउँगाउँमा पुगेर पार्टीका सदस्यता बढाउन सकिए कांग्रेसलाई कसैले हराउन नसक्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले कांग्रेसले आफू हारेर पनि देश र प्रजातन्त्र जित्ने गरी विगतमा चुनौतीपूर्ण वातावरणमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताउनुभयो ।
उक्त समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एक ढिक्का र बलियो बनाउन भावनात्मक सम्बन्ध आवश्यक रहेको बताउँदै कांग्रेसले संगठन सुदृढीकरणका लागि भोलिबाटै तालिका बनाएर नयाँ अभियानका साथ गाउँगाउँ जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अनेकौँ आशंका र जटिलताकाबीच महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको र यसले देशभरका कार्यकर्तामा नयाँ उत्साह, उमंग र एकताको सन्देश दिएको विचार व्यक्त गर्नुभयो । कांग्रेसको विधान समावेशीता र अन्य दृष्टिकोणले विश्वमै उत्कृष्ट भएको पनि वरिष्ठ नेता पौडेलले दावी गर्नुभयो ।
उहाँले दुई तिहाई बहुमतको वर्तमान सरकारले अनुभवको कमी र अपरिपक्वकताका कारण जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।
समारोहमा नेपाली कांग्रेसकी नेतृ तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले महासमितिको बैठकले पार्टीमा एकताको सन्देश गएको बताउँदै पार्टीको राजनीतिक र आार्थिक नीतिलाई समयानुकूल परिमार्जनको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।
गत मंसिर २८ गते देखि शुरु भएको महासमिति बैठकले विधान मस्यौदा, सांठनिक, राजनीतिक, आर्थिक प्रतिवेदन र समग्र आर्थिक नीति सर्वसम्मतले पारित गरेको छ ।
विधान मस्यौदा समितिको प्रतिवेदन पारित भएसँगै नेपाली कांग्रेस पदाधिकारीमा अब एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन् । कोषाध्यक्षबाहेकका सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ ।