पुस ७, काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न युनिफिकेशन चर्चको एशिया प्रशान्त शिखर सम्मेलनमा सरकार र आफ्नो सहभागिताबारे आइतबार विशेष समय लिएर बोल्नुहुने भएको छ ।
धार्मिक संस्थाले आयोजना गरेको सम्मेलनका लागि नेपालका तर्फबाट आयोजक बनेको भन्दै उहाँको पार्टी भित्र र बाहिर चर्को आलोचना भएको थियो । नेपालले शनिबार अध्यक्षद्वयको प्रतिवेदनमाथि मात्रै टिप्पणी गरेका थिए । आफूलाई लागेको आरोपबारे भने उहाँले आइतबार स्पष्टीकरण दिने पार्टी श्रोतले बतायो ।
मंसिर २९ अर्थात शनिबारबाट लगातार पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा पार्टी एकतामा भइरहेको बिलम्ब र अध्यक्ष केपी ओली नेतृत्व सरकारको कार्यशैलीको आलोचना हुनुका साथै खासगरी युनिफिकेशन चर्चको समिटमा सरकारको संलग्नताको विरोध भइरहेको छ।
ओलीले सम्मेलनबारे खासै टिप्पणी नगरेपनि उहाँका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाकार डा.राजन भट्टराई र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाउन सहयोग गरेको भन्दै सरकारको बचाउ गरेको अवस्थामा त्यसमा सक्रिय सहभागिता जनाएका नेपालले संभवत बैठकको अन्तिम दिन आइतबार त्यसबारे स्पष्टीकरण दिनुहुने भएको हो ।
स्रोतका अनुसार त्यसका लागि नेपालले लिखित प्रतिवेदन नै पेश गर्ने तयारी गर्नुभएको छ । यसबारेको जिज्ञासामा उहाँले भन्नुभयो, ‘यसबारे जे विचार छ त्यो म पार्टी भित्रै राख्ने छु । बाहिर भन्नुको अर्थ छैन।’
बैठकबाट बाहिरिँदै गर्दा नेता छविलाल विश्वकर्माले भन्नुभयो,’ उहाँ (नेपाल)ले केही मुद्दाहरुमा भोलि पनि प्रष्ट पार्नुहुने छ । खासगरी एशिया प्यासिफिक समिटनै हो ।’