बुटवल - राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री निरञ्जन थापाले सरकार र सिके राउतबीच भएको सम्झौता ‘डरलाग्दो’ भएको बताएका छन्। कहिल्यै उपनिवेश नभएको नेपालमा स्वतन्त्र मधेसको माग गर्दै हिँडेका व्यक्तिसँग जनमत संग्रह गराउने गरी सरकारले सम्झौता गर्नु मुलुकका लागि दुभाग्यपूर्ण भएको दावी गरे।
नेपालको स्वतन्त्रतामाथि गम्भिर संकट ल्याउने गरी राष्ट्रहित विपरित सम्झौता भएको थापाको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राबारे जानकारी दिन आइतबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले स्वतन्त्र मधेसको मुद्दा बोकेको सिके राउतसँगको सम्झौता दुर्भाग्यपूर्ण भएको बताए।
‘यो सम्झौता देशको हितमा छैन। स्वतन्त्र मधेस हुनै सक्दैन। सरकारले गरेको यो सम्झौता डरलाग्दो र गैरजिम्मेवार छ,’ उनले भने। सरकारले र सिके राउतबीच गत शुक्रबार ११ बुँदे सम्झौता भएको छ।
थापाले आफूहरू जनताको मुद्दा बोकेर जनतको घरदैलोमा हिँडेको बताए। थापाले सनातन हिन्दू राष्ट्र नेपालको पुनःस्थापना गर्न आफूहरू स्वाभिमान यात्रामा निस्केको बताए। फागुन १५ गते ताप्लेजुङबाट शुरू गरिएको अभियान सोमबार बुटवलमा आइपुग्ने पार्टीका अर्का नेता प्रदीप उदयले जानकारी दिए।
नेपाल हिन्दू राष्ट्र पुनस्थापना गर्न, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, पर्याप्त रोजगारी सिर्जनाका लागि दबाब, महिला विरुद्धको हिंसा अन्त्य र जातीय विभेद र छुवाछूतको अन्त्यका लागि भन्दै यात्रा शुरू गरेको हो।
यात्रा टोलीले आइतबार नेपालगञ्जमा कार्यक्रम गर्नेछ। नेपालगञ्जबाट सोमबार बिहान हिँडेर टोलीले दिउँसो बुटवलको ट्राफिक चोकमा सभा गर्ने उदयले जानकारी दिए। सभालाई पार्टीका अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहोरा नेताहरू निरञ्जन थापा र बुद्धिमान तामाङले सम्बोधन गर्नेछन्। बुटवलको सभापछि यात्रा टोली पोखरातर्फ लाग्नेछ।