पुस ७, भक्तपुर । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले समाज विकास र सामाजिक कार्यमा सबै दल एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवम् हनुमन्ते नदी सफाइ सामाजिक सेवा उद्घाटन कार्यक्रममा उहाँले सामाजिक कार्यमा कसैले पनि राजनीति गर्न हुँदैन भन्नुभयो ।
उहाँले भन्नुभयो,“भक्तपुरमा सञ्चालन भइरहेको हनुमन्ते नदी र अरनिको राजमार्ग सफाइ अभियान देशकै नमूना अभियान भएको छ, यो अभियानले समाजलाई एकताबद्ध बनाएर लैजानुको साथै जनतालाई उत्प्रेरणा दिइरहेको छ, अब भक्तपुर नमूनायोग्य जिल्ला बन्ने छ ।”
भक्तपुरको दुवै अभियानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै उहाँले यो अभियानमा नेकपा र नेपाली कांग्रेससँगैसँगै लागेर उदाहरणीय कार्य गरेको भनाइ राख्नुभयो । राजनीतिमा प्रतिस्पर्धा गरेपनि जनताको समृद्धिमा सबै दल मिलेर जानुको विकल्प नरहेको औँल्याउँदै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारा एउटा पार्टीको नारा नभई सबै नेपालीको नारा हो, यो नारालाई व्यबहारबाटै सफल पार्नु भनेको देशलाई समृद्धिको खुट्किला चढाउनु हो ।”
उहाँले सार्वजनिक जग्गा, सडक, नदी, सम्पदा अतिक्रमण गर्नु सामाजिक अपराध भएको बताउँदै कुनै पनि पार्टीको झण्डा, सोर्सफोर्स, नेता वा कुनै पनि ओदोहामा भएको आडमा यस्तो अपराध हुन नहुने भनाइ राख्नुभयो ।
कार्यक्रममा उहाँले भक्तपुरमा आइपर्ने कुनै विपदका लागि आवश्यक पर्ने विपद् व्यवस्थापनका रु २० लाख बराबरको बञ्चरो, साबेल, हेम्बर, पानी बोट, पिक, पञ्जा, स्टेचरलगायतका सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले अरनिको राजमार्गको तेस्रो चरणको अभियान शुरु हुने बताउनुभयो । उहाँले हरेक बुधबार अरनिको राजमार्ग र हरेक शनिबार हनुमन्ते नदीको सफाइलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सांसद डा राजेन्द्रमान श्रेष्ठ, शशीजङ्ग थापा, रजनी जोन्छे, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, नेकपाका केन्द्रीय सदस्य दिलीप प्रजापति, नेकपाका भक्तपुर अध्यक्ष वचन देउजा, नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा लगायतले सफाइ अभियान प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।