महेन्द्रनगर - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको सहमति राष्ट्रियता विपरीत भएको बताएका छन्। राष्ट्रिय स्वाभिमान यात्राका क्रममा कञ्चनपुर आइपुगेका थापाले पत्रकार सम्मेलनमा बोल्दै यस्तो टिप्पणी गरेका हुन्।
स्वतन्त्र मधेसको अभियान सञ्चालन गर्दै आएका राउतले शुक्रबार सरकारसँग राज्य विखण्डनकारी नीति छाडेर राजनीतिक मूलधारमा फर्कन ११ बुँदे समझदारी गरेका छन्। सिके राउतले विगतमा गरेको विखण्डनकारी कार्यप्रति कुनै पश्चताप नगरेको तथा सहमतिमा ‘तराई-मधेसलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतबाट समाधान गर्ने’ व्यहोरा उल्लेख भएकोप्रति अध्यक्ष थापाले आपत्ति जनाएका हुन्।
‘राष्ट्रियताको सवालमा जनमत हुनै सक्दैन। यसले झन् राज्य विखण्डनलाई प्रोत्साहन दिन्छ,’ अध्यक्ष थापाले भने, ‘राउतसँग सरकारले गरेको सहमतिबाट जनअभिमत शब्दावली तत्काल हटाइनुपर्छ।’
सरकारले राउतसँग गरेको सहमतिपत्रको दुई नम्बर बुँदामा ‘नेपालको संविधानमा प्रयुक्त जनतामा निहीत सार्वभौम अधिकारको प्रयोग गर्दै तराई-मधेसलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत दुवै पक्ष तयार रहेको’ उल्लेख छ। साथै राप्रपा अध्यक्ष थापाले एक हप्ता भित्रमा सहमतिपत्रबाट उक्त शब्दावली हटाउन सरकारलाई आग्रह गर्दै आफ्नो मागलाई वेवास्ता गरिए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए।
हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय एकतासँग सरकारलाई राप्रपाले बुझाएको २२ बुँदे ज्ञापनपत्रका सम्बोधनका लागि स्वभिमान यात्रा गरिएको अध्यक्ष थापाले बताए। आफूहरुको मागप्रति सरकार सकारात्मक नदेखिए जनसंघर्षका कार्यक्रम गर्ने उनले घोषणासमेत गरे। राप्रपाले फागुन १५ गतेबाट राष्ट्रिय स्वभिमान यात्रा शुरु गरेको थियो।