बेनी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता शनिबार म्याग्दी आइपुगेका छन्।
सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आएका हुन्।
हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेका छन्। नेताहरुले कुण्डको अवलोकनसँगै स्नानसमेत गरेकाे छ। उच्चपदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुर्याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए।
तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए। उनीहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए। उद्घाटन गरिने भवन सङ्गम चोकमा रु ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी रु २९ लाख ५९ हजार ४२५ लगानीमा निमार्ण गरिएको थियो।