किशोर विश्वकर्मा, विराटनगर – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले जनताद्वारा निर्वाचित सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध आन्दोलन गर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रेशम चौधरीको विषयमा अदालतले गरेको फैसलाबाट चित्त नबुझेको र आफुहरु स्तब्ध तथा दुखी भएको बताए। उनले भने, ‘न्याय गरेर मात्र हुँदैन न्याय गरेको देखिनुपर्छ, त्यो अनुभूति हुनुपर्छ।’
आन्दोलनकारीलाई जन्मकैदको फैसला हुने हो भने बिगतमा विभिन्न चरणमा भएका आन्दोलनमा सहभागी प्रचण्डदेखि ओली र गरिजासम्मका सबै नेताहरु दोषी रहेको उनले बताए।
‘सबै कुनै न कुनै आन्दोलनमा सहभागी भएका छन्,’ महतोले भने, ‘उनीहरु समेत सजायको भागिदार हुनुपर्छ।’ नेता महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारु र मधेसी समुदायको असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिको आन्दोलन बीचबाटोमै रहेको विचार व्यक्त गरे।
विचारधारा मिल्ने पार्टीहरुसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तिका लागि शान्तिपूर्ण राष्ट्रिय आन्दोलन शुरु गर्ने उनको भनाई थियो।
राजपाका अर्का नेता शरदसिंह भण्डारीले सांसदलाई फौजदारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने बताए। उनले पार्टीले जनतालाई जागरुक गराएर शान्तिपूर्ण आन्दोलनको चाँडै घोषणा गर्ने पनि जानकारी दिए।
नेता भण्डारीले मधेस आन्दोलन र थरुहट आन्दोलनसम्बन्धि छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरिएकोमा आपत्ति जनाए। उनले भने, ‘ती प्रतिवेदन सार्वजनिक गरे जनताले यथार्थ थाहा पाउने थिए।’
सप्तरीको मलेठमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा राजपाका अध्यक्ष मण्डल संयोजक महेन्द्र राय यादव, नेता महतो र भण्डारी विराटनगर आएका हुन्।