किशोर विश्वकर्मा, विराटनगर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई नेता डा. शेखर कोइरालाले नटेरेको बताएका छन्। कोइरालालाई जथाभावी नबोल्न सम्झाएको भए पनि उनले नटेरेको सभापति देउवाको भनाई छ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै देउवाले भने, ‘शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ। तर, उहाँ रोकिनु भएन। त्यही भएर मैले जवाफ दिएको हुँ।’
नेतृत्वमा कोइराला परिवारका कोही पनि आउनै नपाउने, चुनावमा उठ्नै नहुने कुरा आफूले नगरेको पनि देउवाले स्पष्ट पारे। नेता कोइरालालाई अनुशासनको कारवाही हुन्छ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले ‘कांग्रेसमा बोल्दैमा कसैलाई कारवाही नहुने’ बताए।
उनले पार्टीको चौधौँ महाधिवेशन समयमै हुने बताएका छन्। आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको समेत बताए। चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले भने, ‘साथीहरुले जमघट गर्नु, छलफल गर्नु अनौठो होइन। यो सामान्य हो।’
सभापति देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको कुरा उठाएको विषय सञ्चारमाध्यममा सुने पनि आफूसम्म त्यो कुरा आइनपुगेको बताए।
वाईडबडी विमान खरिदबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले केही नबोल्ने बताए। ‘उहाँ स्वस्थ भएपछि सबै कुरा गरौँला,’ देउवाले भने।