महेन्द्रनगर – नेपाली कांग्रेसका उपसभापति एंव पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छादारले सरकार सही बाटोमा नहिँडेको आरोप लगाएका छन्। बुधबार प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गच्छदारले यस्तो आरोप लगाएका हुन्।
केपी ओली नेतृत्वको सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट भए पनि त्यसलाई कार्यान्वयन गरिने बाटो भने सही नभएको उनले गुनासो गरे। ‘मैले प्रधानमन्त्रीसँगको भेटमा पनि भनेको छु, सरकार अहिले जुन बाटोमा हिँडिरहेको छ, त्यो बाटो सही छैन। यसले सरकारको नारा पुरा हुन सक्दैन,’ उनले भने।
गच्छदारले सरकार दुई तिहाईको दम्भमा चलिरहेको आरोप लगाए। उनले भने, ‘त्यही आडमा नै सरकार राज्यको हितविपरीत निणर्यसमेत पारित गर्ने प्रयासमा छ, यसले संघीय लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको छ।’
अहिले लागू भएको संघीय गणतान्त्रिक व्यवस्था नै नेपालका लागि उत्कृष्ट व्यवस्था भएको उनको भनाई थियो। लामो समय र संघर्षपछि देशले पाएको उपलब्धिलाई कम्युनिष्ट सरकारले कमजोर पारेको उनले बताए।
‘विकास निर्माणमा पनि सरकारले पक्षपात तरिकाले काम गरिहेको छ,’ उनको आरोप थियो। नेता गच्छदार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार कञ्चनपुर आएका हुन्।