काठमाडौँ – प्रतिनिधिसभाको आज (बिहीबार)को बैठकमा कृषि उपजको मूल्य निर्धारण गर्न पाउने गरी ‘कृषि उपजको मूल्य निर्धारण आयोग’ गठन गर्नुपर्ने माग उठेको छ।
किसानले आफूले उत्पादन गरेको कृषि उपजको मूल्य आफैँ निर्धारण गर्न पाउने गरी आयोग गठन हुनुपर्ने र उपजको मूल्य निर्धारणमा किसान संलग्न हुनुपर्ने भन्दै बैठकमा सांसद हृदयेश त्रिपाठीले सरकार र सदनको ध्यानाकर्षण गराएका छन्।
सभामुखसँग समय माग गर्दै सांसद त्रिपाठीले किसानले उत्पादन गरेको कृषि उपज विचौलियाले निर्धारण गरेर किसान र उपभोक्तालाई समेत दिनदहाडै ठगी गरिरहेकाले तत्काल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ध्यान दिनुपर्ने र त्यस्तो आयोग गठन गर्नुपर्ने सांसद त्रिपाठीको माग छ।
बजारलाई कृषि उपजको मूल्य निर्धारण गर्न दिँदा किसान मर्कामा परेको विषय आफूले पटक पटक सदनको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको उनको भनाइ छ। यस्तै सांसद त्रिपाठीले उखु किसानलाई सरकारले दिएको अनुदान प्राप्त गर्न कठिनाइ भएको भन्दै किन त्यस्तो भएको हो भन्ने प्रश्न गरे।
सरकारले निर्धारण गरेको अनुदानको २० प्रतिशत मात्रै किसानले प्राप्त गरेको भन्दै उनले सम्बन्धीत मन्त्रीको ध्यानाकर्षण गराए। यस वर्ष उखु क्रसिङ ढिलो शुरु भएको जानकारी दिँदै उनले एक हप्ता मात्रै कारखाना चलाएर सुनवलको चिनी कारखानाले किसानलाई मर्कामा पारेको भन्दै तत्काल सरकारले हस्तक्षेप गर्नुपर्नेमा जोड दिए।