काठमाडौँ – टिकापुर घटनामा सांसद रेशम चौधरीलाई दाेषी ठहर गर्दै जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राजपा अध्यक्षमण्डलको बैठक शुरू भएकाे छ।
बुधबार फैसला सार्वजनिक भएलगत्तै बैठक राजधानीको बबरमहलमा दिउँसो साढे तीन बजेदेखि जारी छ। फैसलामा चाैधरीकाे सांसद पद पनि खारेज हुने उल्लेख छ।
राजपाबाटै चुनाव जितेका चाैधरीका विरूद्धमा अदालतकाे फैसला आएपछि अब कसरी अघि बढ्ने विषयमा बैठकमा छलफल हुने पार्टी निकट स्रोतले जानकारी दिएको छ।
अदालतले फैसलाले टीकापुर घटनामा दोषी ठहर गरेपछि निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले स्पष्ट पारेका छन्।
नैतिक पतन देखिने फौजदारी कसुर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने पाण्डेले बताए। ‘अदालतबाट दोषी ठहर भएपछि सांसद रहने कानुनी व्यवस्था छैन,’ उनले भने, ‘संघीय संसदको नियमावलीले उनलाई पदमा जान दिँदैन।’