खेमराज सापकोटा, इटहरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वमा भएका परिवर्तन शहीदको बलिदानीले सम्भव भएको बताएका छन्।
मंगलबार सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. –१९ मा रहेको शहीद आवासीय स्मृति विद्यालयको भवन उद्घाटन र शहीद सप्ताह कार्यक्रमको समापन गर्दै प्रचण्डले शहीदको महत्वपूर्ण योगदानकै कारण नेपालसहित विश्वमा परिवर्तन सम्भव भएको बताएका हुन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्वन्द्वपीडित तथा शहीदका सन्तानको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था राज्यले नै गर्ने बताउँदै बेपत्ताको खोजीमा आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए।
शिक्षा क्षेत्रमा नेपालमा अझै समस्या व्याप्त रहेको बताउँदै प्रचण्डले बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन सक्न नै चूनौती रहेको बताए। स्नातकोत्तर सकेर पनि नेपाली युवा वैदेशिक रोजगारीमा जानु परिरहेको अवस्था कहालीलाग्दो भएको प्रचण्डको भनाई छ।
शिक्षा नीतिलाई समयसापेक्ष परिमार्जन गर्नु पर्नेतर्फ इंगित गर्दै प्रचण्डले शिक्षा नीतिमा आमूल परिवर्तन नगरिएसम्म विदेश पलायनलाई रोक्न असम्भव भएको बताए। ‘विद्यालयको पढाई सकेर विद्यार्थी जापानिज र कोरियन भाषा सिक्न बाध्य छन्। यसलाई निर्मूल गर्न पनि शिक्षालाई समय सापेक्ष बनाउनु पर्छ,’ उनले भने। नेकपा नेतृत्वको सरकार प्राविधिक शिक्षाको विकासमा लागेको प्रचण्डको भनाई छ।