उर्लाबारी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङमा सिर्जना पार्क अवलोकन गरेका छन्। उनले आज (मंगलबार) बिहान बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गरेका हुन्।
नेपालसहित ६ वटा देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ भनेका थिए। उनले निर्माण भइरहेको पार्कका विषयमा जानकारी पनि लिएका थिए।
ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उनले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझावसमेत दिए। सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ विगाह जमिनमा निर्माणाधीन पार्कको पहिलो चरणको कार्यशाला भने आज सकिँदैछ।
नेपालसहित भारत, जापान, जर्मनी, बङ्गलादेश र इटालीका मूर्तिकारले अहिले ‘फनपार्क’का लागि ढुङ्गाबाट मूर्ति बनाइरहेका छन्। कार्यशालामा ४२ जना मूर्तिकारले मूर्ति बनाइरहेका छन्। (रासस)