काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का स्थायी बासिन्दा देवराज थपलियाले आफ्नै छिमेकी छत्रबहादुर पोखरेल र बेलमाया पोखरेल दम्पत्तिले झुठो आरोप लगाएर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थपलियाले आफूमाथि झुठा, कपोकल्पित र भ्रामक आरोप लगाई सुनियोजित रुपमा पोखेरल दम्पत्ति र उनीहरुका छिमेकी पार्वती दवाडीले चरित्र हत्या गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्।
पोखरेल दम्पत्तिको श्रीसम्पत्ति षड्यन्त्र गरेर खाएको भन्ने समाचार बाहिर आएपछि आफू बाध्य भएर पत्रकार सम्मेलन गर्न काठमाडौं आएको थपलियाले सुनाए। थपलियाले पोखरेल दम्पत्तिसँग आफूले जग्गाको विषयमा कुनै कारोबार नगरेको स्पष्ट पारे।
पोखरेल दम्पत्तिले भनेजस्तो आफूले अपांगता भत्ता मिलाउनको लागि कागज बनाएर जग्गा नहडपेको पनि थपलियाको दाबी छ। उनले भने, ‘मैले त उनीहरुसँग कुनै कागज नै बनाएको छैन। उहाँहरुसँग लेनदेनको कागजमा कुनै सही छाप नै गरेको छैन। अनि कसरी षडयन्त्र गरेको हुन्छ?’
उनले भने, ‘मैले सम्मानित चितवन जिल्ला अदालतबाट डाँक बडाबडबाट जग्गा लिएको हुँ, कसैसँग जालझेल गरेर लिएको होईन। यो कुरा सम्मानित अदालतलाई राम्रोसँग थाहा छ। अदालत गएर मिडियाकर्मीले बुझ्दा पनि हुन्छ।’
आफ्नी पत्नी सरस्वती गौतमसहित पत्रकार सम्मेनलमा उपस्थिति भएका थपलियाले आफूमाथि लगाईएका झुठो आरोपले सामाजिक प्रतिष्ठामा आँच आएको सुनाउँदै कसैको ईशारामा लागेर गरिएको चरित्र हत्या कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।
थपलियाले भने, ‘उनीहरुबाट मेरो घरमा रातको समयमा समेत ढुंगामुढा गरी परिवारलाई आतंकित तुल्याउने काम भएको छ। यो विधिको शासनको ठाडो उल्लंघन हो। कानूनी राजको उपहास हो। उनीहरुले मेरो परिवार कसैलाई पनि बाँकी राख्दैनौं, मारिदिन्छौं भनेरसमेत धम्की दिएका छन्। यो कुरालाई लिएर मैले प्रहरी प्रशासनमा समेत ज्यानको सुरक्षाको लागि निवेदन दिएको थिएँ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक मुद्दाअन्तर्गत पोखरेल दम्पत्तिलाई ८ हजार जरिवानासमेत गरिसकेको छ।’
उनले पोखरेल दम्पत्तिले अहिले पनि आफ्नो सिँगो परिवारमाथि ज्यान मार्ने धम्की दिने गरेको र मोबाईल म्यासेजमार्फत तथानाम गालीगलौज गर्ने गरेको पनि सुनाए। उनले भने, ‘यसको लागि पनि मैले कानूनी उपचार खोजिसकेको छु। दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ।’
थपलियाले आफूलाई सम्मानित अदालतले पोखरेल दम्पत्तिको घर खाली गराई चलनपुर्जी दिईसकेको पनि सुनाए। उनले भने, ‘राजनीतिक आस्थाको आधारले उनीहरुले ममाथि यस्तो षड्यन्त्र र प्रपञ्ज रचेका हुन्। केही मान्छेहरु, जो मेरा विरोधी थिए, उनीहरुले नै पोखरेल दम्पत्तिलाई उचालेका हुन्। उनीहरुको घर जग्गा नभएको होईन, भरतपुर महानगरपालिका वडा नम्बर २९ कुशुमटारमा अहिलेपनि १० कठ्ठा जग्गा र घर छ, बेलमाया क्यान्सर अस्पतालकी स्थायी जागिरे हुन्। उनको छोरा सानिमा विकास बैंकका चालक हुन्। बुहारी अहिले युरोपमा छिन्।’
पोखरेल दम्पत्तिले मिडियामा भनेजस्तो सडकको बास नभएको पनि थपलियाले जिकिर गरे। उनले भने, ‘पोखरेल दम्पत्तिको अहिले पनि मनग्गे आम्दानी छ।’ आफूले अहिलेसम्म पोखरेल दम्पत्तिसँग एक रुपैयाँ पनि पैसाको कारोबार नगरेको थपलियाको जिकिर छ। पत्रकार सम्मेलनमार्फत उनले आफ्नो परिवारको शान्ति, सुरक्षाको लागि संघीय सरकारको ध्यानाकार्षण गराएका छन्।