पुस २, कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त संघीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभएको छ ।
धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालको भू–राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्था सहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणाली अन्तर्गत सृदृढ, बलियो स्थानीय स्वायत्त शासन नै उपयुक्त हुने र यसले मात्र देशलाई स्थायित्व दिनसक्ने बताउनुभयो ।
अध्यक्ष थापाले २०६२÷६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा जे–जस्ता कार्य भए त्यसले वर्तमान समयमा विभिन्न विकृति र विसंगति बढाएकाले हामी सबैले यसको सुधार गर्नुपर्नेमा जोड दिनुभयोे । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उहाँले नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न त्यति सहज नभएपनि असम्भव पनि नभएको जिकिर गर्नुभयो । अध्यक्ष थापाले पार्टीको वर्तमान कार्यनीति संगठन निर्माण, जनपरिचालन सम्बन्धी कार्यक्रम, पार्टी एकता र फागुन ७ गतेदेखि जनसंघर्षरत कार्यनीति लिएर आफ्ने पार्टी अगाडि बढिरहेको बताउनुभयो ।