किशोर विश्वकर्मा, विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्ननरसिंह केसीले पार्टीको १४औँ महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने नत्र कांग्रेस र लोकतन्त्र नै कमजोर हुने बताएका छन्।
विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता केसीले समयावधि थप्न नहुने र महासमितिले दिएको म्याण्डेडलाई महाधिवेशनले मात्र परिवर्तन गर्न सक्ने प्रावधान भए पनि जथाभावी गरिएको बताए।
नेता केसीले भने, ‘बहुमतका आधारमा तोडमोड गरी पारित गरिएको विधान मान्य छैन।’ उनले तलैबाट निर्वाचित भएर आउनुपर्ने प्रावधान लोकतान्त्रिक पार्टीको गुण नै भएकाले यसलाई परिवर्तन गर्न नहुने बताए।नेता केसीले पार्टीमा सभापतिको उम्मेदवार बन्न तँछाडमछाड गर्नुभन्दा सबैको सरसल्लाहमै तयारी गरिनु पर्ने बताए। उनले भने ‘म पनि सभापतिको आकांक्षी हो तर सबैको सरसल्लाह र सहमतिमा मात्र निर्णय गर्छु।’
अर्को प्रसंगमा नेता केसीले सरकार भ्रष्टाचारलाई बढावा दिने निकाय जस्तो भएको आरोप लगाउँदै बुढीगण्डकी, वाइडबडी खरिद, फोरजी इजाजत जस्ता विषयले नेपालकै बदनामी भएको बताए। नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भए त्यो को हो? त्यसलाई सार्वजनिक गर्न चुनौती केसीले दिए।
नेता केसीले भने ‘यो प्रकरणमा विपक्षी दलका कोही नेता संलग्न भए सरकारले तिनको नाम सार्वजनिक गरोस्।’ उनले वाइडबडी प्रकरणमा सरकारले दोहोरो चरित्र देखाएको र सरकारी छानबिन समिति बनाएर झन् उसको अभीष्ट उदांगो पारेको आरोप लगाए।
वाइडबडी खरिदमा भएको अनियमिततामा संलग्न जो भए पनि कारवाहीको दायरामा ल्याइनुपर्ने केसीको भनाइ छ। ‘अर्बौ रुपैयाँ घोटाला भएको यो काण्डमा को-को संलग्न छन् भनेर अनुहार हेर्ने जनतालाई इच्छा छ,’ नेता केसीले भने, ‘तर सरकार भने यो विषयलाई मोड्ने प्रयासमा छ।’