सुर्खेत - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह नियुक्त भएका छन्। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकमा नियुक्ति गरेका हुन्।
दलको सचेतकमा प्रदेशसभा सदस्य सीता नेपालीलाई नियुक्ति दिइएको दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले बताए। प्रमुख सचेतक शाह नियुक्त शाह वनगाड कुपिण्डे नगरपालिका -६ सल्यान निवासी हुन्। उनी विसं २०७४ को प्रदेशसभाको चुनावमा सल्यान जिल्लाको प्रदेश ‘क’ बाट निर्वाचित भएका हुन्।
सचेतकमा नियुक्त प्रदेशसभा सदस्य नेपाली लेकबेँसी नगरपालिका सुर्खेत निवासी हुन्। उनी सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्। प्रमुख सचेतक र सचेतक दुवैलाई नेकपा संसदीय दलको शनिबार बसेको बैठकले चयन गरेको हो।(रासस)