पुस १, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ। हाललाई इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गरिएको छ।
एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी छन्।
प्याराग्लाइडिङले पुरुष टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो। उक्त पदक नेपालले १८औं एसियाडमा हासिल गरेको एकमात्र पदक थियो। विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेका थिए। माघ ५ सम्म चल्ने प्रशिक्षण मंसिर २५ देखि सुरु भए पनि औपचारिक उद्घाटन भने शनिबार मात्र गरिएको हो। राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे।
प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव विष्टले पदक ल्याउन असफल भए पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३औं सागको तयारीलाई ध्यानमा राखी विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी गराए। कार्यक्रममा विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई सदस्यसचिव विष्टले ट्र्याकसुट पनि प्रदान गरेका थिए।