काठमाडौं। नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर ३ को सभापतिमा दामोदर न्यौपाने निर्वाचित भएका छन्। करिब एक दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय न्यौपानेले क्षेत्रीय सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्।
न्यौपाने भरतपुर महानगरपालिका–८ का पूर्व वडा अध्यक्षसमेत हुन्। उनले वडा अध्यक्षका रूपमा पाँच वर्ष जिम्मेवारी सम्हाल्दै विकास निर्माणसँगै स्थानीय जनतासँग प्रत्यक्ष जोडिएर काम गरेका थिए। वडा तहमा नेतृत्व गरेको अनुभवसँगै न्यौपाने सामाजिक तथा राजनीतिक गतिविधिमा पनि निरन्तर सक्रिय रहँदै आएका छन्। उनले क्षयरोग संस्थाको जिल्ला सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। आफ्नो कार्यकालमा गरेको कामका आधारमा भरतपुर महानगरपालिका तथा प्रधानमन्त्रीबाट समेत आफू पुरस्कृत भएको न्यौपानेले बताएका छन्।
क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि न्यौपानेले पार्टी संगठनलाई थप सक्रिय बनाउँदै कांग्रेसलाई जनतासँग अझ नजिक जोडेर अघि बढाउने बताएका छन्। “समयको माग र अहिलेको आवश्यकतालाई बुझेर हामी अगाडि आएका हौँ। पार्टीलाई बलियो बनाउन र संगठनलाई अझ सक्रिय बनाउन मेरो भूमिका रहनेछ,” उनले भने। उनले आफूलाई विश्वास गरेर साथ दिने पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रका सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्।
“मलाई विश्वास गरेर साथ दिनुहुने पार्टीका साथीहरू, शुभेच्छुक तथा मेरो क्षेत्रका सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दछु,” न्यौपानेले भने। करिब १० वर्षको राजनीतिक तथा सामाजिक सक्रियता, वडा तहमा नेतृत्व गरेको अनुभव र संगठनभित्रको निरन्तर सक्रियताका बीच न्यौपाने चितवन क्षेत्र नम्बर ३ को कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। आगामी दिनमा पार्टी संगठनलाई थप मजबुत बनाउँदै देश र जनताको पक्षमा सक्रिय भएर काम गर्ने उनको प्रतिबद्धता छ।