धनुषा - प्रदेश २ प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको घोषणा गरिएकाे छ। प्रदेशसभा अधिवेशन कानून मिचेर गरिएको आरोप प्रतिपक्षी दलले लगाएको छ।
प्रतिपक्षी नेपाली कांग्रेसकाे प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले संवैधानिक र प्रदेशसभा कार्यसञ्चालन नियमावलीअनुसार प्रदेश प्रमुखले प्रदेशसभालाई अधिवेशन अन्त्य भएको पत्र पठाउने र सो पत्र प्रदेशसभा बैठकमा सभामुखले पढेर सुनाएपछि अधिवेशन अन्त्य भएको मानिने भए पनि त्यस्तो नगरी अधिवेशन अन्त्य गरिएको हुँदा कानूनी प्रक्रिया मिचिएको बताए।
फागुन १५ गते ३ बजेका लागि आह्वान गरिएको बैठकअगावै प्रदेश सरकारको सिफारिसमा फागुन १२ गते आइतबार साँझ प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पठाएको पत्रका आधारमा प्रदेशसभा अधिवेशन मध्यरातमै अन्त्य भएको सोमबार जारी सूचनामा जनाइएको छ।
संविधानको धारा १८३ को उपधारा २ बमोजिम र प्रदेशसभा कार्यसञ्चालन नियमावलीको नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य भएको घोषणासम्बन्धी सूचना जारी गरिएको छ।
नियमावलीको नियम ३ को उपनियम २ मा संविधानको धारा १८३ को उपधाराबमोजिम सभाको अधिवेशन प्रदेश प्रमुखले अन्त्य गरेमा सोसम्बन्धी सूचना सभामुखले बैठकमा पढेर सुनाउनेछ भनिएको छ। अर्थात् कानूनी प्रक्रिया मिचेर नै अधिवेशन अन्त्यको घोषणा गरिएको बताइएको छ।
हुन त उपनियम ३ मा बैठक स्थगन भएको अवस्थामा अधिवेशन अन्त्य भएमा सोसम्बन्धी जानकारी सचिवले सूचनापत्रद्वारा सदस्यलाई दिने भनिएको छ। सो उपनियममा बैठक स्थगन भएको अवस्थामा मात्र सचिवले सूचना जारी गर्न पाउने व्यवस्था छ। तर, फागुन १५ का लागि आह्वान गरिएको बैठक स्थगन नै नगरी प्रदेशसभाले अधिवेशन अन्त्य गर्नु कानूनी प्रक्रियाविपरीत भएको आरोप प्रतिपक्षी नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता यादवले लगाए।
उनले भने, “पछिल्लो बैठक हामीले अवरुद्ध गरेपछि फागुन १५ मा आह्वान गरिएको थियो। तर, सो बैठक स्थगन नै नगरी अधिवेशन अन्त्य गर्नु संविधान र नियमावलीविपरीत छ।”
प्रमुख प्रतिपक्षी दल नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले भने अधिवेशन अन्त्य भएको कुरा आफूहरूले जानकारी पाएको तर बैठक स्थगन भएका विषयमा कुनै जानकारी नआएको बताए। उनले बैठक स्थगन नगरी एक्कासि अधिवशेन अन्त्य गर्नु गलत भएको टिप्पणी गर्नुभयो।
प्रदेशसभाको पछिल्लो बैठक फागुन ४ मा बसेको थियो। सो बैठकमा नेपाली कांग्रेसका सांसदले वीरगञ्जस्थित बीपी कोइराला उद्यानमा प्रदेश सरकारले शहीदपार्क निर्माणका लागि शिलान्यास गरेको भन्दै बैठक नै अवरुद्ध गरेका थिए।
विवादका कारण अवरुद्ध हुन पुगेको प्रदेशसभा बैठकमा सभामुखले अर्को बैठक फागुन १५ गतेका लागि आह्वान गरेका थिए। अब तेस्रो अधिवेशन सञ्चालन नभएसम्म बैठक स्थगन रहने भनी सभामुखले दोस्रो अधिवेशन अन्त्यको सूचना प्रकाशित गर्न लगाएका हुन्।
जेठ ३ गतेदेखि शुरु भएको दोस्रो हिउँदे अधिवेशनमा ४८ वटा बैठक बसेको र १६ वटा विधेयक पारित भएको संसद् सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिए। प्रदेशसभाले हालसम्म ७ वटा समितिमध्ये ६ वटा समितिको सभापति सर्वसम्मत चयन गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपाको आन्तरिक विवादका कारण लेखा समितिको सभापति चयन हुन सकेको छैन।
दुईवटा अधिवेशन सम्पन्न भए पनि प्रदेश सरकारले प्रदेशको नाम, राजधानी र भाषासम्बन्धी विधेयक प्रदेशसभामा अहिलेसम्म पनि पेश गर्न सकेका छैन। (रासस)