काठमाडौं । इन्जिनियर तथा जलविद्युत् उद्यमी सुरज पाण्डेले नेपालमा जलवायु परिवर्तनसम्बन्धी बहसलाई तथ्य, विज्ञान र इन्जिनियरिङ विश्लेषणका आधारमा अघि बढाउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले नेपालमा हुने हरेक बाढी, पहिरो, हिमताल विस्फोट तथा पूर्वाधार क्षतिलाई मात्र जलवायु परिवर्तनको प्रभावका रूपमा व्याख्या गर्न नहुने बताएका हुन्।उनका अनुसार पहिरो निम्तिनुमा कमजोर भूगर्भीय संरचना, अत्यधिक वर्षा, सडक कटान, भू–उपयोगमा आएको परिवर्तन, भूक्षय तथा भूकम्पलगायत विभिन्न कारणको भूमिका हुन सक्छ। पाण्डेले जलवायु परिवर्तनसँगै हिमताल विस्फोटको जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, नदी व्यवस्थापन, सुरक्षित बस्ती योजना तथा पूर्वाधारको सुरक्षित डिजाइनमा समेत समान रूपमा ध्यान दिनुपर्ने बताएका छन्।
उनले नदी प्रदूषणलाई समेत जलवायु परिवर्तनसँग मात्र जोड्न नहुने उल्लेख गर्दै फोहोरमैला व्यवस्थापन, ढल तथा फोहोर पानी प्रशोधन प्रणालीमा सुधार र नदीमा फोहोर फाल्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने बताएका छन्।पेट्रोलियम, डिजेल तथा विद्युतीय सवारीसाधनको वातावरणीय प्रभावबारे पनि तथ्यमा आधारित बहस आवश्यक रहेको पाण्डेको भनाइ छ। विद्युतीय सवारीलाई वातावरणीय प्रभावरहित प्रविधि मान्न नहुने भए पनि त्यसकै आधारमा यसको जीवनचक्रमा हुने उत्सर्जन अन्य प्रविधिभन्दा बढी हुन्छ भन्ने निष्कर्षमा पुग्न नहुने उनले बताएका छन्।पाण्डेले ‘जलवायु परिवर्तन वास्तविक समस्या हो, तर हरेक समस्यालाई एउटै शब्दले व्याख्या गर्नु हुँदैन’ भन्दै जलवायु नीति निर्माण तथा क्षतिको जिम्मेवारी निर्धारण गर्दा तथ्य, वैज्ञानिक अध्ययन र इन्जिनियरिङ विश्लेषणलाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।