काठमाडौँ – राष्ट्रियसभाका सांसदहरूले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संसद् बैठकमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस्ताे माग गरेका हुन्।
सङ्घीय संसद्, राष्ट्रियसभाको आज (बुधबार) बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरे।
सांसद दिलकुमारी थापा रावलले भने, “अहिलेसम्म पनि मेलम्चीको पानी काठमाडौँसम्म किन आउन सकेन?, किन अन्याेल भइरहेको छ, जतिसक्दो चाँडो काम सम्पन्न गर्न म सम्बन्धित निकायसँग आग्रह गर्दछु।”
सांसद जीतेन्दनारायण देवले ललितपुर नख्खुस्थित एनसेलको कार्यालय र देशका विभिन्न स्थानमा भइरहेको बम आतङ्कलगायत हत्याहिंसा बढ्दै गएको भन्दै सरकारको ध्यानाकषर्ण गराए। उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबारे सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दृष्टिकोण माग गरे।
सांसद नन्दा चापागाईंले देशमै युवालाई स्वरोजगारको व्यवस्था गर्न माग गरे।
सांसद प्रकाश पन्थले १ सय ४० मेघावाटको तनहुँ जलविद्युत् आयोजनाको सम्झौता इटालियन निर्माण कम्पनी सीएमसीसँग भएकामा नेपाल छोडेर फर्केको, सुरक्षाको प्रश्न उठाएकाले पछिल्लो बमकाण्डले विदेशीलाई लगानीका लागि निरुत्साहित गरेको बताए। तनहुँ जलविद्युत् आयोजना सिध्याउने खेल पहिल्यैदेखि भइरहेकाले सचेत हुन उनले सरकारको ध्यानाकर्षण गराए।
सांसद ठगेन्द्रप्रकाश पुरीले सडक दुर्घटना बढ्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाकै कारण पछिल्लोपटक प्रदेशसभा सदस्य उत्तरकुमार वलीको समेत निधन भएको प्रसङ्ग उल्लेख गरे। उनले दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिए।
सांसद कालीबहादुर मल्लले जाजरकोटमा सुनखानी भएको प्रमाणित भएकामा राज्य बेखबर बनेको बताउँदै सङ्घीय सरकारले जिम्मा लिई उत्खनन गर्नुपर्ने माग गरे। जाजरकोटको नून, फलाम खानी उत्खनन गर्नुपर्ने पनि उनकाे माग थियाे। १ सय वर्षसम्म पुग्ने फलाम जाजरकोटबाटै उत्पादन हुने सांसद मल्लको भनाइ थियो।