काठमाडौँ । रौतहटको गैंडाटारका बासिन्दा प्रत्येक वर्षायाममा उस्तै चिन्तामा बाँचिरहेका छन्–चाँदी नदी कसरी पार गर्ने ? चन्द्रनिगाहपुरसँग जोड्ने मुख्य मार्गका रूपमा हेरिएको चाँदी नदीको पुल निर्माण सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन।
४६९ मिटर लम्बाइको यो पुल विकासको नमुना बन्नुपर्ने ठाउँमा अहिले राज्यको कमजोरी र ठेकेदारको ढिलासुस्तीको प्रतीक जस्तै बनेको छ। २०७३ साल पुसमा पप्पु शिव शंकर जेभीले करिब २५ करोड ३६ लाख रुपैयाँ लागतमा निर्माणको जिम्मा लिएको थियो। २०७६ असारसम्म सम्पन्न गर्ने लक्ष्य भए पनि २०८२ साल नजिकिँदा समेत ११ स्पान भएको पुल अधुरै छ। यो अवधिमा स्थानीयले विकासको अनुभूति होइन, केवल आश्वासन, पटक–पटकको म्याद थप र जोखिमपूर्ण यात्रा मात्र भोगेका छन्। वर्षातमा नदी तर्दा ज्यान जाने घटना समेत भएका छन्। निर्माणमा ढिलाइका कारण कहिले कोरोना महामारी त कहिले आर्थिक समस्या देखाइए पनि स्थलमा न त पर्याप्त कामदार देखिन्छन्, न त आवश्यक उपकरण नै। पुल अलपत्र परेपछि स्थानीयले आन्दोलन र अनसन समेत गरे, तर समाधान अझै निस्किएको छैन।
स्वास्थ्य संकटका बेला अस्पताल पुग्न नसकेर नदी किनारमै छटपटिनुपरेका घटना छन् भने कतिपय विद्यार्थी परीक्षा दिन जान नसकेको पीडा पनि उत्तिकै गम्भीर छ। यसै सन्दर्भमा जेनजी युवा अभियन्ता करण देवकोटाले अब ढिलाइ अस्वीकार्य भएको बताएका छन्। उनका अनुसार, “यो केवल भौतिक संरचना होइन, हजारौँ नागरिकको ज्यान र सुरक्षासँग जोडिएको विषय हो। अब सबै तहका सरकारले यसलाई प्राथमिकतामा राख्नैपर्छ।”विगतमा मन्त्री तथा उच्च अधिकारीहरूले अनुगमन गरी निर्देशन दिए पनि काममा उल्लेखनीय प्रगति नहुनुले समग्र प्रणालीमाथि नै प्रश्न उठाएको छ। गैंडाटारका बासिन्दाले अझै कति समय एउटै पुलका लागि जोखिम मोल्नुपर्ने हो भन्ने प्रश्न यथावत् छ।