काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आगामी निर्वाचन आउन एक साता बाँकी रहँदा चुनावी सरगर्मी बढ्न थालेको छ । यही पुस २८ गते हुने २०औँ साधारण सभा अन्तर्गतको निर्वाचनमा तीन जना नेतृत्वको लागि मैदानमा होमिएका छन् । दिपकराज भुषाल र लक्ष्मण पौडेल ‘एन्ड्रयू’ र गीताञ्जली शर्माले आ–आफ्नो टीम बनाएर चुनावी प्रचार प्रसारमा अघि बढेका छन् । अहिले उनीहरू चुनावी ऐजेण्डा बोकेर शैक्षिक परामर्श व्यवसायीहरूसंग मत मागिरहेका छन् ।
अध्यक्षमा तीन जना चुनावी मैदानमा
अनुभवी परामर्श व्यवसायीबिचको यो भिडन्तलाई इक्यानको भावी दिशा निर्धारण गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ । इक्यानको नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेदवार शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। वर्तमान महासचिव दिपकराज भुषाल, हाल उपाध्यक्षको भूमिकामा रहेका लक्ष्मण पौडेल ‘एन्ड्रयू’,गीताञ्जली शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान महासचिव दिपकराज भुषाल करिब डेढ दशकदेखि इक्यानका विभिन्न जिम्मेवारीमा रहेर सङ्गठन निर्माण, नीतिगत समन्वय र सदस्य हितका विषयमा काम गर्दै आएका अनुभवी नेतृत्व हुन्।
अर्कातर्फ, हाल उपाध्यक्षको भूमिकामा रहेका पौडेल पनि परामर्श व्यवसायमा स्थापित नामका रूपमा चिनिन्छन् र व्यावसायिक स्वतन्त्रता तथा प्रतिस्पर्धात्मक वातावरणको पक्षमा आवाज उठाउँदै आएका छन्। भुषालले सङ्गठनलाई संस्थागत, प्रणालीमा आधारित र राज्यसँग सहकार्य गर्ने दिशामा अगाडि बढाउने स्पष्ट कार्यदिशा प्रस्तुत गरेका छन्। एक द्वार दर्ता प्रणाली, तालिम संरचना, अनुसन्धान कक्ष, शाखा सशक्तीकरण र अन्तर्राष्ट्रिय गन्तव्यसम्बन्धी रणनीतिक पहल उनका प्रमुख एजेण्डामा छन्। यी योजनाले इक्यानलाई केवल व्यवसायीहरूको सङ्गठन नभई नीति निर्माणमा योगदान दिने जिम्मेवार संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको देखिन्छ । पौडेलले भने सदस्यहरूको अधिकार, व्यावसायिक स्वतन्त्रता र बजार प्रतिस्पर्धालाई प्राथमिकतामा राख्दै सङ्गठनभित्र नयाँ ऊर्जा र नेतृत्व शैली आवश्यक रहेको तर्क अघि सारेका छन् । उनले इक्यानलाई अझ खुला, गतिशील र सदस्य–मैत्री बनाउने प्रतिबद्धता जनाउँदै आएका छन्।
शर्माले शैक्षिक परामर्श व्यवसायमा रहेका विकृति अन्त्य र संस्थागत एकतामा जोड दिन आफूले उम्मेदवारी दिन लागेको घोषणा गरिन् । उनले इक्यान कास्कीमा तीन कार्यकाल कोषाध्यक्ष र केन्द्रमा एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । शर्माले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो २२ वर्षे अनुभव र संस्थागत योगदानलाई आधार बनाउँदै नेतृत्वका लागि दाबी गरेकी हुन् ।
उपाध्यक्ष पदमा को–को ?
इक्यानको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने क्रम जारी छ। अहिले सम्म पुष्प राज भट्टराई,विकल्पराज पोखरेल, बासु देव दाहालले उम्मेदवारी दिएका छन् । भट्टराईले संस्थागत दायित्व वहन गर्ने उद्देश्यका साथ उम्मेदवारी प्रस्तुत गरेको जनाएका छन् भने पोखरेलले संस्थाभित्र काम गर्ने शैली, सोच र प्राथमिकताका आधारमा आफूलाई फरक प्रकारको नेतृत्वका रूपमा प्रस्तुत गरेका छन्। यस्तै दाहालले शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक मर्यादा, संस्थागत सन्तुलन र सदस्यहरूको साझा हितलाई केन्द्रमा राखेर उपाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका छन्।
महासचिवमा हुमागाईं र केसी
इक्यानको महासचिवमा अहिले सम्म दुई जनाको नाम चर्चामा छ । केन्द्रीय महासचिव पदमा भवनाथ हुमागाईं र नवराज केसीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । हुमागाईंले इक्यान केन्द्र र जिल्ला शाखाबीचको समन्वय प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्। नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्य योजना निर्माणमार्फत सङ्गठनभित्र एकरूपता र विश्वासको वातावरण निर्माणमा योगदान पुगेको उनको भनाइ छ। त्यसै गरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रियालाई पुनः सुचारु गर्न उनले निर्णायक पहल गरेको जनाएका छन्। मन्त्रालयसँगको निरन्तर संवाद र संस्थागत प्रयासमार्फत सदस्यहरूको व्यावसायिक सुरक्षाका लागि ठोस आधार तयार भएको उनको दाबी छ।
यता अर्का उम्मेदवार केसीले निर्वाचनको सरगर्मी बढिरहँदा केसीले आफू जत्तिको अनुभवी मान्छे नेतृत्वमा आउँदा समग्र परामर्श क्षेत्रकै मर्यादा र व्यावसायिकतामा गुणात्मक सुधार आउने दाबी गरेका छन् । राज्यका निकायहरूसँगको समन्वय, सदस्यहरूको हकहित संरक्षण र वैदेशिक शिक्षालाई व्यवस्थित बनाउन आफ्नो भूमिका प्रभावकारी हुने उनको विश्वास छ । विगत १७ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा निरन्तर क्रियाशील केसी यस क्षेत्रका अनुभवी व्यक्तित्व मानिन्छन् ।
सचिव पदमा सिलवाल, कार्की र तामाङ
सचिव पदमा सुरज सिलवाल र आशिक कार्कीले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। सिलवाललाई युवापुस्तामाथि जिम्मेवारी सुम्पने नेतृत्वको प्रतिनिधिका रूपमा हेर्न थालिएको छ। सङ्गठनभित्र निरन्तर सक्रिय रहँदै आएका सिलवालको उम्मेदवारीलाई अनुभव र ऊर्जाबीचको सन्तुलनका रूपमा मूल्याङ्कन गरिँदै छ। इक्यानमा लामो समयदेखि आबद्ध रहँदै आएका सिलवाल पछिल्लो कार्यकालमा कार्यकारी सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। कार्यसमितिमा रहँदा सङ्घका कार्यक्रम, नीति र कार्यान्वयन प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आएका उनले सङ्गठनलाई व्यवहारिक र सदस्य केन्द्रित बनाउने पक्षमा जोड दिँदै आएका छन्।
इक्यानको वर्तमान कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका आशिक कार्कीलाई पनि बलिया प्रतिस्पर्धी मानिएको छ । हालसम्मको कार्यकालमा कोषाध्यक्षका रूपमा सक्रिय भूमिका निर्वाह गरेका कार्कीले इक्यानको आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै सङ्गठन सञ्चालनका आधारभूत संरचना सुदृढ गर्ने काम गरेको दाबी गरेका छन् । कोषाध्यक्षका रूपमा तयार भएका संरचनालाई अब सचिव पदबाट कार्यान्वयन र विस्तार गर्ने लक्ष्यका साथ आफू उम्मेदवारीको मैदानमा उत्रिएको कार्कीको भनाइ छ ।
यस्तै सचिवमा लालबहादुर तामाङले पनि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। इक्यान कुनै व्यक्तिको संगठन नभई आम शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन भएकाले । शैक्षिक परामर्श क्षेत्र हरेक समस्याबाट प्रताडित भइरहेको अवस्थामा त्यसलाई हल गर्नका लागि सक्षम नेतृत्वको खाँचो भएकाले आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
कोषाध्यक्ष पदमा उमा खड्का पाठक र साधना पुडासैनी
केन्द्रीय कोषाध्यक्ष पदमा उमा खड्का पाठक, साधना पुडासैनीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र दीर्घकालीन रूपमा सशक्त बनाउने अभियानमा खड्का पाठक लामो समयदेखि सक्रिय रहँदै आएकी छन्। शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष रूपमा संलग्न रहँदै उनले इक्यानमा एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा काम गरिसकेकी छन्। हाल उनी सामाजिक उत्तरदायित्व विभाग तथा इक्यान अमेरिका विभागको जिम्मेवारी सम्हाल्दै संस्थागत सुदृढीकरण, क्षमता विकास र आर्थिक अनुशासनका क्षेत्रमा योगदान पु¥याउँदै आएकी छन्। सही व्यक्ति, सही स्थान–भरोसायोग्य कोषाध्यक्ष” भन्ने नारासहित उम्मेदवारी सार्वजनिक गरेकी पुडासैनीले सङ्घको आर्थिक पारदर्शिता, अनुशासन र संस्थागत मजबुतीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्। कोषाध्यक्ष पदमार्फत इक्यानको आर्थिक व्यवस्थापनलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उनको भनाइ छ।
उम्मेदवारी घोषणा गर्दै पुडासैनीले अनुभव, जिम्मेवारी बोध र स्पष्ट दृष्टिकोणका साथ कोष व्यवस्थापनको दायित्व निर्वाह गर्ने दृढ सङ्कल्प व्यक्त गरेकी छन्। शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष रूपमा संलग्न रहँदै एक कार्यकाल कार्यसमिति सदस्यका रूपमा काम गरेको अनुभवलाई आधार बनाउँदै उनले संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व र आर्थिक अनुशासन कायम राख्न आफू सक्षम रहेको उल्लेख गरेकी छन्।
सह–कोषाध्यक्ष पदमा खनाल र थापाको उम्मेदवारी
सह–कोषाध्यक्ष पदमा गोविन्द खनाल र भीम बहादुर थापाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले अध्यक्ष पदका उम्मेदवार दिपक राज भुसालको नेतृत्वमा रहेको टिमबाट उम्मेदवारी दिएका हुन्। खनालले दिपक राज भुसाल नेतृत्वको टिमले अघि सारेको संस्थागत सुधार, पारदर्शिता र सदस्य केन्द्रित कार्यदिशासँग आफू पूर्ण रूपमा ऐक्यबद्ध रहेको बताएका छन्। भुसाल टिमको लक्ष्यअनुसार इक्यानलाई उत्तरदायी, विश्वसनीय र आर्थिक रूपमा सबल संस्थाको रूपमा विकास गर्न सह–कोषाध्यक्ष पदबाट योगदान दिने उनको प्रतिबद्धता छ ।
यस्तै थापाले लक्ष्मण पौडेल ‘एन्ड्रयू’ को टिमबाट उम्मेदवारी दिएका हुन्। थापाले इमानदारी, जिम्मेवारी र प्रतिबद्धताका साथ उम्मेदवारी दिएको बताएका छन् ।
यस्तो छ कार्य तालिका
इक्यानको नयाँ कार्यसमिति चयनका लागि पुस २२ गते बिहान १० देखि देखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ । सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म दर्ता भएका उम्मेदवारको मनोनयन उपर दाबी विरोधको तालिका छ। सोही दिन ३ः३० बजे उम्मेदवारको दाबी विरोध पछिको नामावली प्रकाशन हुनेछ। त्यसै गरी २३ गते बिहान १०ः१५ बजे उम्मेदवारको मनोनयन फिर्ताका लागि समय दिइएको छ । सोही दिन बिहान १०ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका इक्यान निर्वाचन समितिले सार्वजनिक गरेको छ । इक्यानको नेतृत्व छनौट भने २८ गतेको साधरणसभाको उद्घाटन सत्रपछि दिनको १ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। मतदान लगत्तै सोही दिन साँझको ६ः ३० बजेबाट मतगणना हुने कार्य तालिका छ भने मत परिणामको घोषणा गणना पश्चात् हुने निर्वाचन समितिले जनाएको छ।
करिब ७०० भन्दा बढी सदस्य संस्था आबद्ध इक्यानको यो निर्वाचन केवल पदाधिकारी चयनको प्रक्रिया मात्र नभई, शैक्षिक परामर्श व्यवसाय कुन दिशामा अघि बढ्ने भन्ने निर्णयको घडी पनि हो । अनुभव, निरन्तरता र स्पष्ट कार्य योजनाका कारण भुषालको दाबी बलियो देखिए पनि पौडेलको चुनौतीले निर्वाचनलाई रोचक र प्रतिस्पर्धात्मक बनाएको छ। अन्ततः मतदाताको निर्णयले इक्यानको आगामी यात्राको खाका कोर्नेछ ।